Dhulikhel Eco Banner new

लामो अन्तरालपछि फर्कियो कृति अवार्ड्स, ‘कृति इग्नाइट’बाट १३औँ संस्करणको शुभारम्भ

312
shares

काठमाडौं, २२ असोज । नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको सिर्जनशीलता र उत्कृष्टतालाई सम्मान गर्दै आएको कृति अवार्ड्सको १३औँ संस्करण औपचारिक रूपमा सुरु भएको छ। नेपाल विज्ञापन संघ (आन) ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘कृति इग्नाइट’ कार्यक्रममार्फत रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को शुभारम्भ गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विज्ञापन, सञ्चार, उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। मन्त्री तिमिल्सिनाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

विज्ञापन तथा आमसञ्चार क्षेत्रमा सिर्जनशीलता, नवीन सोच र व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको कृति अवार्ड्सको यस संस्करणलाई विभिन्न व्यावसायिक तथा सञ्चारसम्बद्ध संस्थाले साथ दिएका छन्। लामो अन्तरालपछि पुनः आयोजना हुन लागेको यस संस्करणले नेपाली विज्ञापन उद्योगमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली विज्ञापन उद्योग तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने विशेष अडियो–भिजुअल प्रस्तुति गरिएको थियो। आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवर्द्धक तथा मिडिया अलायन्स नेपालका संस्थापक अध्यक्ष भास्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए।

त्यसैगरी, कृति अवार्ड्सको यस संस्करणका शीर्ष प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। आनका अध्यक्ष सुदीप थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयात्री तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए।

यस वर्षको कृति अवार्ड्सलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डको समर्थन रहेको छ। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल सहआयोजकका रूपमा सहभागी छन्।

यस संस्करणको मुख्य प्रायोजक रेड बुल रहेको छ। साथै, विज्ञापन तथा सञ्चार क्षेत्रका विभिन्न ब्रान्ड र संस्थाले पनि प्रायोजन तथा सहकार्य गरेका छन्।

कृति अवार्ड्सको यसपटकको अर्को महत्त्वपूर्ण पक्ष गैरसदस्य एजेन्सीहरूका लागि समेत मनोनयन खुला गरिनु हो। यसले अवार्ड्समा सहभागिताको दायरा विस्तार गर्दै नेपाली विज्ञापन क्षेत्रमा प्रतिस्पर्धा, सहकार्य र सिर्जनशीलतालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यसअघि १३औँ संस्करणलाई लक्षित गर्दै ‘Creativity Connect, Where It All Starts’ नारासहित ‘कृति कनेक्ट’ कार्यक्रमसमेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममार्फत विज्ञापन तथा बजारीकरण क्षेत्रका एजेन्सीहरूबीच विचार आदानप्रदान, सिर्जनशीलता र व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरिएको थियो।

‘कृति इग्नाइट’सँगै सुरु भएको १३औँ कृति अवार्ड्सले नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने एजेन्सी, सिर्जनाकर्ता र ब्रान्डलाई पहिचान तथा सम्मान गर्ने मञ्चका रूपमा आफ्नो भूमिकालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।