Dhulikhel Eco Banner new

सम्झौतापछि डिल्ली हरिजनले तोडे आमरण अनशन

455
shares

काठमाडौं, २३ असोज । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग राख्दै आमरण अनशनमा बसेका डिल्ली हरिजनले सरकारसँग सम्झौता भएपछि अनशन तोडेका छन् ।

नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अनशनरत हरिजनबीच शुक्रबार सम्झौता भएपछि उनले अनशन अन्त्य गरेका हुन् ।

हरिजन गत असोज १९ गतेदेखि चिकित्सा शिक्षा आयोगको परिसरमा पुनः आमरण अनशनमा बसेका थिए ।

सम्झौताअनुसार एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्तासम्बन्धी मागलाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा पेस गरिनेछ । यसअघि गत साउन २२ गते मन्त्रालय र हरिजनबीच भएको सम्झौताको पहिलो बुँदामा उक्त विषय समेटिएको थियो ।

त्यसैगरी, सम्झौतामा उल्लेख गरिएका अन्य मागका बुँदा नम्बर २, ३, ४ र ५ का सम्बन्धमा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने उल्लेख छ ।

इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग सम्बोधन गर्न दबाब दिँदै हरिजनले यसअघि पनि अनशन बसेका थिए । यसअघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै उनी पुनः अनशनमा बसेका हुन् ।

शुक्रबार भएको सम्झौतामा हरिजन, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा चिकित्सा शिक्षाका विद्यार्थीहरू रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी रोहबरमा बसेका थिए ।