खाद्य व्यवस्था कम्पनीको सीईओ नियुक्ति प्रक्रिया अघि बढ्यो, तीन जनाको नाम सिफारिस
वि.सं.२०८३ असोज २९ बिहीवार १२:४९
shares

काठमाडौं, २९ असोज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट तीन उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिको २०८३ असोज २२ गतेको निर्णयअनुसार सीईओका लागि डिल्लीराज लम्साल, संगीता यादव र होमनाथ न्यौपाने सिफारिस भएका छन्।
मन्त्रालयले असोज २८ गते सार्वजनिक गरेको सूचनाअनुसार सिफारिस हुनेमा तनहुँको भिमाद नगरपालिका–१ का लम्साल, सिरहाको विष्णुपुर गाउँपालिका–१ की यादव र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० का न्यौपाने रहेका छन्।
सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार खुला प्रतिस्पर्धाबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हो।
अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ। नियुक्त हुने सीईओले कम्पनीको व्यवस्थापन, खाद्यान्न खरिद तथा बिक्री र देशका विभिन्न क्षेत्रमा खाद्यान्न आपूर्तिलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।


















