Dhulikhel Eco Banner new

सिटिजन लाइफका दुई ठूला शेयरधनीले बेच्दै २७ लाख ६० हजारभन्दा बढी कित्ता शेयर

676
shares

काठमाडौं, ३० असोज। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २७ लाख ६० हजार २८ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्।

कम्पनीका अनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालि र शुष्मा राणाले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न चाहेका हुन्। यति वर्ल्ड इन्भेष्टमेन्टले ९ लाख ६० हजार २८ कित्ता शेयर बिक्री गर्ने प्रस्ताव गरेको छ भने राणाले १८ लाख कित्ता शेयर बिक्री गर्ने मनसाय व्यक्त गरेकी छन्।

नेपाल धितोपत्र बोर्डको २०८३ असोज २३ गतेको निर्देशनअनुसार कम्पनीले संस्थापक शेयर बिक्रीसम्बन्धी विवरण सार्वजनिक गर्न लागेको हो। ठूलो परिमाणमा शेयर बिक्री गर्न खोजिएको अवस्थामा लगानीकर्ताले समयमै जानकारी पाऊन् भन्ने उद्देश्यले यस्तो विवरण सार्वजनिक गरिन्छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ अनुसार लकइन अवधि समाप्त भएपछि प्रारम्भिक सार्वजनिक निष्कासनका समयमा कायम रहेका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। कम्पनीले प्राप्त विवरण नेपाल स्टक एक्सचेन्जमार्फत यथाशीघ्र सार्वजनिक गर्नुपर्छ।