न्यूजिल्याण्ड नेपाल सोसाइटीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २६ लाखभन्दा बढी सहयोग
वि.सं.२०८३ असोज ३० शुक्रवार १५:१८
shares

काठमाडौं, ३० असोज। न्यूजिल्याण्डमा रहेका नेपालीहरूको संस्था न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेड ले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट अर्थात् नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा बराबरको सहयोग प्रदान गरेको छ।
उक्त रकम प्रतिनिधिसभा सदस्य डा. राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्कराज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरणका क्रममा मन्त्री पौडेलले विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारीबोध गर्दै सहयोग जुटाउने न्यूजिल्याण्ड नेपाल सोसाइटी तथा त्यहाँ रहेका सम्पूर्ण नेपाली दाताहरूप्रति आभार व्यक्त गरे। उनले प्राप्त सहयोगले बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सरकारले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।
न्यूजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष डा. रोशन खड्काले नेपालमा विपद् आइपर्दा विदेशमा रहेका नेपालीहरू सधैँ मातृभूमि र नेपाली जनताको साथमा रहने बताए। उनले आगामी दिनमा पनि आवश्यकताअनुसार नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस अभियानमा आर्थिक योगदान पुर्याउने तथा सहयोग संकलनमा सक्रिय भूमिका निर्वाह गर्ने न्यूजिल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा दाताहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ।
विदेशमा रहेर पनि मातृभूमिमा विपद् पर्दा नेपालीहरूले देखाएको यस मानवीय सहयोगले प्रवासी नेपाली र मातृभूमिबीचको आत्मीय सम्बन्ध, आपसी एकता र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
















