उद्धार गर्न नेपाली सेनाको १० लाख खर्च, अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवाना
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १५:५८
shares

काठमाडौं, १७ कात्तिक। प्रतिबन्धित माथिल्लो डोल्पा क्षेत्रमा अनुमति नलिई तथा भारी हिमपातका बेला पदयात्रा नगर्न दिइएको चेतावनीसमेत बेवास्ता गर्दै पुगेका ६ भारतीय पर्यटकको उद्धारमा नेपालले करिब १० लाख रुपैयाँ खर्च गरेको छ।
पदयात्राका क्रममा अलपत्र परेका उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिएका पर्यटकमध्ये पाँच जना भारतको पश्चिम बंगाल र एक जना आन्ध्र प्रदेशका रहेको बताइएको छ।
उनीहरू नुमा ला र बागा ला भञ्ज्याङ आसपासको क्षेत्रमा दुई रातसम्म अलपत्र परेका थिए। प्रतिकूल मौसम र भारी हिमपातका कारण उनीहरूलाई तत्काल सुरक्षित स्थानमा ल्याउन कठिनाइ भएको थियो।
अनुमतिबिना प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको भन्दै अधिकारीहरूले उनीहरूबाट अनुमति शुल्क र जरिवानासहित कुल १ लाख ६० हजार नेपाली रुपैयाँ असुल गरेका छन्। प्रत्येक पर्यटकलाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो। यद्यपि, उनीहरूको अवस्थालाई ध्यानमा राख्दै जरिवाना रकममा केही सहुलियत दिइएको जनाइएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले पटक–पटक दिइएको चेतावनी बेवास्ता गरेर पदयात्रामा निस्कनु गैरजिम्मेवारपूर्ण भएको बताएकी छन्। यस्तो लापरबाहीले पर्यटक स्वयंका साथै उद्धारमा खटिने सुरक्षाकर्मी र उद्धारकर्मीको ज्यानसमेत जोखिममा पार्ने उनको भनाइ छ।
अनुमतिबिना प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्नु र प्रतिकूल मौसममा चेतावनी बेवास्ता गरी पदयात्रा गर्नुले पर्यटन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।



















