कामना सेवा विकास बैंकद्वारा धरानमा टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १०:५४
shares

काठमाडौं, २० कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिका–१२ मा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेको छ।
बैंकको शाखा कार्यालय धरानमार्फत आयोजित कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन वितरण गरेका हुन्।
कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले सार्वजनिक यातायातका साधनमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने र यात्रुहरूमा सरसफाइप्रति सचेतना अभिवृद्धि हुने बताए।
त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले सार्वजनिक यातायातलाई स्वच्छ तथा वातावरणमैत्री बनाउन डस्टबिन वितरण कार्यक्रम सहयोगी हुने उल्लेख गर्दै बैंकको पहलप्रति धन्यवाद व्यक्त गरे।
बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सम्बन्धित सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।



















