Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास, तीन अर्ब खर्च हुने

611
shares

काठमाडौं, २० कात्तिक। ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । करिब ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर शिलान्यास तथा जग पूजा गरेका छन् ।

करिब १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बैंकले राखेको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गरे । काठमाडौंको प्राइम लोकेसन उत्तरढोकामा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उनको भनाइ छ ।

ढकालले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौंको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

उनले भने, ‘ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयको आज शिलान्यास भएको छ । सम्भवतः वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न कार्यालय भवनको आज शिलान्यास भएको छ । करिब १ लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ लागत लाग्नेछ ।’

उनले बैंकप्रति ग्राहक, सेयरधनी, कर्मचारी र शुभेच्छुकहरूले देखाएको माया, साथ र सद्भावकै कारण केन्द्रीय कार्यालय निर्माणको काम अघि बढाउन सम्भव भएको उल्लेख गरे ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताए ।

उनले आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालन गर्ने उद्देश्यसहित नयाँ केन्द्रीय कार्यालय निर्माण थालिएको जानकारी दिए । हाल केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सबै विभागलाई एउटै छानामुनिबाट सञ्चालन गर्न सकिने उनको भनाइ छ ।