Dhulikhel Eco Banner new

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ३० करोडभन्दा बढी

819
shares

काठमाडौं, २० कात्तिक । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफा ३४२.५३ प्रतिशतले बढेको छ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धि, उत्पादन दक्षतामा सुधार तथा वित्तीय खर्चमा आएको कमीले नाफा वृद्धिमा योगदान पुर्‍याएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २८.७८ प्रतिशतले बढेर ३ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको कुल मुनाफा ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा गत वर्षको १६ करोड ९१ लाख रुपैयाँबाट बढेर ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको वित्तीय खर्चमा समेत उल्लेख्य कमी आएको छ। गत वर्ष ८ करोड ७२ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्च घट्दा कम्पनीको खुद नाफा वृद्धिमा थप सहयोग पुगेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ७ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ। यससँगै कम्पनीको कुल इक्विटी ९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६४ रुपैयाँ १८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५० रुपैयाँ ८३ पैसा पुगेको छ।