Dhulikhel Eco Banner new

हरिबोधनी एकादशी मेलाले त्रिभुवन राजपथ प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

689
shares

काठमाडौं, ४ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाका कारण शुक्रबार त्रिभुवन राजपथ हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर ४ गते शुक्रबार हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई कान्तिलोकपथ (हेटौंडा–ठिंगन–सातदोबाटो) प्रयोग गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मेला व्यवस्थापन तथा सवारी आवागमन सहज बनाउन वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको जानकारी दिएका छन् ।

प्रशासनले सूचना जारी गर्दै मन्दिर परिसरमा लाग्ने मेलामा भक्तजनको भीडभाड हुने र मन्दिर क्षेत्रको सडक साँघुरो तथा भिरालो भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मन्दिर वरपरको दुई किलोमिटर सडक खण्ड एकतर्फी मात्रै सञ्चालन गरिनेछ । यसका कारण घण्टौंसम्म सवारी जाम हुन सक्ने भएकाले यात्रुको सहजताका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो ।

मेलाका कारण हेटौंडाको बुद्धचोकदेखि भैंसे बजार हुँदै पालुङ–नौबिसे खण्डको त्रिभुवन राजपथ तथा भैंसे बजारदेखि भीमफेदी–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने छोटो मार्गमा सवारी आवागमन प्रभावित हुनेछ ।

यी दुवै मार्ग हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक सयौं साना–ठूला तथा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन हुँदै आएका छन् । मधेश प्रदेशका सर्लाहीदेखि पर्सासम्मका यात्रुले पनि दैनिक काठमाडौं आउजाउ गर्न यही मार्ग प्रयोग गर्दै आएका छन् ।

यसैबीच, २६ कात्तिकयता भीमफेदी–देउराली सडकखण्डको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा र बिहीबार भैंसे बजार नजिक जिप दुर्घटना हुँदा गरी १७ जनाको ज्यान गइसकेको छ ।