Dhulikhel Eco Banner new

उदयपुरका सांसदको ‘जग हँसाउने’ प्रतियोगिता : बालेनसँगको फोटो पठाए पुरस्कार

5.59K
shares

काठमाडौं । जनताका समस्या, विकास निर्माण र निर्वाचनमा गरेका प्रतिबद्धताबारे जनतालाई जवाफ दिनुपर्ने जनप्रतिनिधि नै नेताहरूसँग खिचिएका तस्बिरको प्रतियोगिता गराएर पुरस्कार बाँड्न अघि सरेका छन् ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद पारसमणि गेलालले निर्वाचनका क्रममा नेताहरूसँग खिचिएका फोटो तथा भिडियो पठाउनेलाई नगद पुरस्कार दिने प्रतियोगिताको घोषणा गरेका छन् । सांसदको यो हर्कतको अहिले चौतर्फी आलोचना भइरहेको छ । सांसद गेलाललाई चुनाव जिताउन भोकप्यासै हिडेकाहरु पनि यतिबेला भने लज्जित बनेका छन् ।

प्रतियोगितामा गाउँको सुन्दरता, स्थानीय जनजीवन, संस्कृति, पर्यटन वा उदयपुरको सम्भावना झल्काउने तस्बिरलाई स्थान दिइएको छैन । बरु प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सांसद गेलाल स्वयं र उदयपुर–२ का सांसद सूर्य लामासँग खिचिएका तस्बिर मागिएको छ ।

गेलालको सचिवालयले सञ्चालन गर्ने भनिएको फेसबुक पेजमार्फत सार्वजनिक सूचनामा ‘अब खिच्ने मात्र होइन, नगद पुरस्कार पनि जित्ने’ भन्दै प्रतियोगिताको प्रचार गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खिचिएका फोटो वा भिडियो पठाउनेमध्ये उत्कृष्ट तीन जनालाई नगद पुरस्कार दिने सांसद गेलालले घोषणा गरेका छन् । क्यामेरा वा मोबाइल जुनसुकै उपकरणबाट खिचिएका सामग्री पठाउन सकिने उनले फेसवुकमार्फत जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन फोटो वा भिडियो पठाएर मात्रै पुग्ने छैन । सहभागीले आफ्नै सामाजिक सञ्जालमा समेत ती सामग्री पोस्ट गर्नुपर्ने सर्त राखिएको छ ।

निर्वाचनमा जनतासँग अनेकौँ प्रतिबद्धता गरेर निर्वाचित भएका सांसदले आफ्नो क्षेत्रका जनताको समस्या, विकासका आवश्यकता र निर्वाचनमा गरेका वाचाको कार्यान्वयनबारे सार्वजनिक चासो जगाउने कार्यक्रम ल्याउन सक्थे । तर, नेताहरूसँग खिचिएका तस्बिर संकलन गरेर पुरस्कार बाँड्ने प्रतियोगिताले सांसदको प्राथमिकता र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएको छ ।

जनप्रतिनिधिको सार्वजनिक गतिविधि जनताको जीवनसँग जोडिनुपर्ने हो कि नेतासँग खिचिएका तस्बिरको प्रचारमा केन्द्रित हुनुपर्ने हो ? सांसद गेलालको यो प्रतियोगिताले यस्तो प्रश्न उठाएको छ ।