Dhulikhel Eco Banner new

नास–आईटी एक्स्पो २०२६ मंसिर ५ र ६ गते आयोजना हुने

2K
shares

काठमाडौं, १ मंसिर । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy)  नारासहित आयोजना हुन लागेको एक्स्पोमा यस वर्ष स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत छलफल थप गरिएको आयोजकले जनाएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीले एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नु रहेको जानकारी दिएको छ। साथै, विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमा प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने कार्यक्रम पनि समावेश गरिएको छ।

पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको बताए। उनले नेपाली उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग बढाउने तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने विषयमा एक्स्पो केन्द्रित रहने जानकारी दिए।

त्यस्तै, नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पोमा प्रविधि प्रदर्शनीसँगै व्यवसाय, प्रविधि र जनशक्तिबीच अन्तरक्रियाका कार्यक्रमसमेत रहने बताइन्। उनका अनुसार एक्स्पोमार्फत खरिदकर्ता, स्टार्टअप तथा विद्यार्थीले प्रविधि कम्पनीका उत्पादन र सेवाबारे जानकारी लिनुका साथै व्यावसायिक सहकार्यका सम्भावना पहिचान गर्न सक्नेछन्।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई)  तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्।

स्टार्टअप प्याभिलियन र विषयगत छलफल

यस वर्ष युरोपेली संघ (ईयू) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन स्थापना गरिने भएको छ। उक्त प्याभिलियनमा स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्न सक्नेछन्।

एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल आयोजना हुनेछ। दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विदिन’ शीर्षकमा दुईवटा प्यानल छलफल सञ्चालन गरिने आयोजकले जनाएको छ।

‘सेलेक्ट यूएसए’ सत्रमा नेपाली व्यवसायका लागि अमेरिकी बजारमा उपलब्ध अवसरबारे छलफल हुनेछ। ‘बिल्डिङ फ्रम विदिन’ सत्रमा नेपालको आन्तरिक प्रविधि बजारको विकासका विषय समेटिनेछन्।

त्यसैगरी, दुवै दिन सञ्चालन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार सन् २०२५ नोभेम्बरमा सम्पन्न पहिलो नास–आईटी एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए।

यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ। सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एक्वाबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई–ए प्राक्सा कम्पनी रहेका छन्। डिशहोम इन्टरनेट साझेदारका रूपमा रहेको छ भने किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा आबद्ध छन्।

एक्स्पो संयोजक तथा नास–आईटीकी कार्यसमिति सदस्य प्रार्थना साखले कार्यक्रम आयोजनाका लागि प्रायोजक, साझेदार, प्रदर्शक तथा विभिन्न संस्थाको सहकार्य रहेको जानकारी दिइन्।

एक्स्पोको कार्यक्रम विवरण
मिति : २०८३ मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२, २०२६)
समय: बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म
स्थान: हेरिटेज गार्डेन, सानेपा, ललितपुर
दर्ता:  https://tinyurl.com/NASITEXPO2026

नास–आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो। संस्थाले नेपाली प्रविधि उद्योगको विकास तथा अन्तर्राष्ट्रिय विस्तारमा योगदान पुर्‍याउने र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ।