Dhulikhel Eco Banner new

भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति

1.01K
shares

काठमाडौं, १ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतले सन् २०२७ अगस्टसम्मका लागि उक्त परिमाणमा विद्युत् आयात गर्न स्वीकृति दिएको हो ।

प्राप्त अनुमतिअनुसार नेपालले भारतबाट दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न सक्नेछ । १३२ केभी क्षमताका चारवटा प्रसारण लाइनमार्फत विद्युत् आयात गर्न अनुमति दिइएको हो । तर, बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको उच्च माग हुने समयमा भने उक्त अनुमति लागू हुने छैन ।

भारतको यो स्वीकृतिले आगामी हिउँदमा नेपालको विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण भोटेकोशी क्षेत्रमा क्षति पुगेपछि कुल ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन् । ती आयोजनाबाट विद्युत् उत्पादन तथा आपूर्ति प्रभावित हुँदा हिउँदमा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारत निर्यात गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् भारतीय ऊर्जा विनिमय बजार Indian Energy Exchange (इन्डियन इनर्जी एक्सचेन्ज) मार्फत बिक्री गर्न सकिनेछ ।

विद्युत् आयात र निर्यात दुवैका लागि प्राप्त अनुमतिले नेपालको विद्युत् आपूर्ति व्यवस्थापन तथा अन्तरदेशीय विद्युत् व्यापारलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।