Dhulikhel Eco Banner new

सिटिजन्स म्युचुअल फण्ड–२ परिपक्व, इकाईधनीलाई रकम फिर्ता वितरण सुरु

1.96K
shares

काठमाडौं, १ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ सात वर्षे अवधि पूरा गरी परिपक्व भएको छ। योजनाको खारेजी प्रक्रिया सम्पन्न भएपछि इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरणसमेत सुरु भएको कम्पनीले जनाएको छ।

रु. ५६ करोड कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गते सञ्चालनमा आएको थियो। निर्धारित सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१ गते योजना परिपक्व भएको हो।

कम्पनीका अनुसार योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक नगद लाभांश वितरण गरेको थियो। यस अवधिमा योजनाले औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको कम्पनीले जनाएको छ।

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ ले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको सिटिजन्स क्यापिटलले उल्लेख गरेको छ।

हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायतका सामूहिक लगानी कोष योजनाहरू व्यवस्थापन गरिरहेको छ।

यसैबीच, कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन २०८३ मंसिर २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

१० वर्षे अवधि रहेको योजनाको प्रारम्भिक आकार रु. १ अर्ब रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम रु. १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ। योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपालबाट AMC Quality 3+ रेटिङ प्राप्त गरेको छ।

सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।