जलवायु जोखिम न्यूनीकरणमा बीमाको भूमिका बढाउन विश्वव्यापी दिगो बीमा सम्मेलनको जोड
वि.सं.२०८३ मंसिर १ मंगलवार १४:३६
shares

काठमाडौं, १ मंसिर । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, आर्थिक लचिलोपन सुदृढीकरण तथा दिगो संक्रमणका लागि बीमा क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने विषय विश्वव्यापी दिगो बीमा शिखर सम्मेलन (जीएसआईएस) मा उठाइएको छ।
टर्की बीमा संघ (टीएसबी) र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को आयोजनामा नोभेम्बर १३ र १४ मा टर्कीको अन्टाल्यामा सम्मेलन सम्पन्न भएको हो। कोप–३१ इन्स्योरेन्स हाउसअन्तर्गत आयोजित सम्मेलनमा विश्वव्यापी बीमा क्षेत्रका प्रतिनिधिहरूले जलवायु जोखिम व्यवस्थापन र बीमाको पहुँच विस्तारका विषयमा छलफल गरेका थिए।
कोप–३१ इन्स्योरेन्स हाउसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सम्मेलनले प्राकृतिक विपत्तिअघि नै तयारी गर्ने तथा बीमा सेवाको उपलब्धता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विषयमा जोड दिएको छ।
सम्मेलनको उद्घाटन टर्की बीमा संघका महासचिव ओजगुर ओबालीले गरेका थिए। उनले विपद् जोखिम वित्तपोषण, प्रारम्भिक चेतावनी प्रणाली, जलवायु तथ्यांक, कृषि बीमा, खाद्य सुरक्षा, समुद्रमा आधारित अर्थतन्त्र तथा प्रकृतिमा आधारित समाधानका विषयमा धारणा राखेका थिए।
ओबालीले विपद् जोखिम व्यवस्थापन, कृषि बीमा र सार्वजनिक–निजी साझेदारीका क्षेत्रमा टर्कीले हासिल गरेको अनुभव अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानमा उपयोगी हुन सक्ने बताए। जलवायु उत्थानशीलता अभिवृद्धि कुनै एक क्षेत्र वा देशको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी, यूएनईपी फाइनान्स इनिसिएटिभका बीमा प्रमुख बुच बाकानीले जलवायु परिवर्तनका कारण बढिरहेका भौतिक जोखिमले बीमाको उपलब्धता र किफायती सेवामा चुनौती थपिरहेको बताए। उनका अनुसार बीमायोग्यता ऋण तथा लगानीका लागि महत्त्वपूर्ण पूर्वसर्त बन्दै गएको छ।
बाकानीले बीमा क्षेत्रको जोखिम व्यवस्थापन क्षमतालाई बैंकिङ, लगानी, सार्वजनिक नीति तथा वास्तविक अर्थतन्त्रसँग सम्बन्धित निर्णय प्रक्रियामा समावेश गर्नुपर्ने धारणा राखे। जलवायु परिवर्तन र प्रकृति क्षतिबाट उत्पन्न जोखिम एकअर्कासँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले स्वस्थ पारिस्थितिक प्रणालीले विपद् जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशीलतामा सहयोग पुर्याउने बताए।
उनले बीमा कम्पनीहरूको जोखिम मूल्यांकन तथा अन्डरराइटिङ प्रक्रियामा जलवायु र प्रकृतिसम्बन्धी जोखिम समावेश गर्ने विषयमा यूएनईपी फाइनान्स इनिसिएटिभले गरिरहेको कामबारे पनि जानकारी दिएका थिए।
सम्मेलनमा जैविक विविधता महासन्धिका कार्यकारी सचिव एस्ट्रिड स्कोमेकरले जलवायु परिवर्तन तथा जैविक विविधता ह्रासका जोखिम व्यवस्थापनमा बीमा क्षेत्रको भूमिकाबारे धारणा राखेकी थिइन्।
उनले बीमा कम्पनीहरूले जोखिम न्यूनीकरण र उत्थानशीलता अभिवृद्धिमा भूमिका खेल्न सक्ने उल्लेख गर्दै भविष्यमा देखिन सक्ने जोखिमबारे समाजलाई जानकारी गराउन बीमा क्षेत्रले योगदान दिनुपर्ने बताइन्।
स्कोमेकरले भविष्यका जोखिमको मूल्यांकन तथा मूल्य निर्धारण र बदलिँदो परिस्थितिअनुसार अनुकूलनका उपाय पहिचान गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेकी थिइन्।
सम्मेलनमा प्रस्तुत धारणा तथा छलफलहरूमा जलवायु जोखिम व्यवस्थापन, कृषि बीमा, प्राकृतिक स्रोत संरक्षण, बीमाको पहुँच र सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य प्रमुख विषयका रूपमा उठेका थिए।
















