नेपाल बैंकको २ लाखसम्मको डिजिटल कर्जा सेवा सुरु
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:४४
shares

काठमाडौं, ४ मंसिर । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर मोबाइल बैंकिङ एप ‘एनबीएल बैंकस्मार्ट एक्सपी’मार्फत ‘एनबीएल फोनलोन’ सेवा सञ्चालनमा ल्याएको छ ।
फोनलोन प्रालिको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत योग्य ग्राहकले बिना धितो अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यसका लागि कुनै कागजी प्रक्रिया पूरा गर्नुपर्ने वा बैंकको शाखामा पुग्नुपर्ने छैन ।
ग्राहकले उक्त कर्जा १, ३, ६ वा १२ महिनाको अवधिमा समान मासिक किस्ता (ईएमआई) मार्फत भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाट सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यस सेवाले ग्राहकलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
यस पहलले बैंकिङ सेवालाई थप सहज र प्रविधिमैत्री बनाउनुका साथै बैंकको डिजिटल बैंकिङ रूपान्तरणलाई तीव्रता दिने विश्वास गरिएको छ ।

















