Dhulikhel Eco Banner new

सुनको मूल्य घटेपछि बजारमा माग ह्वात्तै बढ्यो, दैनिक ४० किलो कारोबार

676
shares

काठमाडौं, ४ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएपछि सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेको छ । पछिल्लो समय दैनिक सुनको कारोबार करिब ४० किलोसम्म पुग्न थालेको छ ।

केही साताको अवधिमा सुनको मूल्य प्रतितोला २५ हजार ४०० रुपैयाँले घटेपछि बजारमा खरिदकर्ताको आकर्षण बढेको हो । विशेषगरी विवाहको तयारी गरिरहेका उपभोक्ता तथा भविष्यका लागि लगानी गर्ने उद्देश्यले सुन खरिद गर्नेहरू बजारमा सक्रिय भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार पछिल्लो समय दैनिक सुनको माग करिब ४० किलो पुगेको छ । तर बैंकहरूले भने दैनिक करिब २५ किलो मात्रै सुन आपूर्ति गरिरहेका छन् ।

बजारमा माग बढ्दै जाँदा बैंकबाट हुने आपूर्ति र उपभोक्ताको मागबीच अन्तर देखिएको छ । यसले आगामी दिनमा नेपाली बजारमा सुनको अभाव हुन सक्ने चिन्ता बढाएको छ ।