Dhulikhel Eco Banner new

सेवाको आवरणमा धार्मिक अतिक्रमण : पर्यटक भिसा दुरुपयोग र वैदेशिक सहायताको अपारदर्शितामाथि गम्भीर प्रश्न

442
shares
नेपालको संविधान र प्रचलित कानुनले कसैको धर्म परिवर्तन गराउने वा त्यसका लागि प्रलोभन देखाउने कार्यलाई दण्डनीय अपराध मानेको छ । तर, पछिल्लो समय मानवीय सेवा, निःशुल्क स्वास्थ्य शिविर, बालगृह सञ्चालन र सीपमूलक तालिमको आवरणमा विदेशी नागरिक तथा केही गैरसरकारी संस्थाहरूले धर्म प्रचारको सञ्जाल विस्तार गरिरहेको तथ्य सार्वजनिक भएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले २० दिनको छोटो अवधिमै भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न ३४ विदेशी नागरिकलाई नियन्त्रणमा लिएर निष्कासन (डिपोर्ट) को प्रक्रिया अघि बढाएसँगै यो विषय राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावको गम्भीर बहस बनेको छ ।
तथ्याङ्कहरूको विश्लेषण गर्दा पर्यटक भिसामा नेपाल भित्रिने विदेशीहरूले ग्रामीण तथा आर्थिक रूपले विपन्न बस्तीहरूलाई मुख्य निशाना बनाएको देखिन्छ । अध्यागमन विभागको पछिल्लो कारबाहीअनुसार मोरङको कानेपोखरीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत स्वास्थ्य शिविर चलाउने बहानामा अमेरिका, ब्राजिल र क्यानडाका १० जना नागरिक क्रिश्चियन धर्म प्रचारमा संलग्न रहेको अवस्थामा पक्राउ परे । यसअघि असोज २३ गते मोरङकै सुन्दरहरैँचास्थित एक शैक्षिक कार्यक्रमको आवरणमा धर्म प्रचार गरिरहेका २४ दक्षिण कोरियन नागरिकलाई जनही ५० हजार रुपैयाँ जरिवाना र तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै डिपोर्ट गरिएको थियो । वैशाखमा विराटनगरबाट सिंगापुरका ६ नागरिक पक्राउ पर्नु र भदौमा ललितपुरको भैंसेपाटीस्थित उच्च सुरक्षा घेरा मानिने मन्त्री क्वार्टर नजिकै बालगृह चलाएर धर्म प्रचार गर्ने अमेरिकी नागरिक डेनियल एस कोर्नी पक्राउ पर्नुले यो सञ्जाल कति संगठित र पहुँचवाला छ भन्ने स्पष्ट पार्छ ।
यो प्रकरण केवल व्यक्तिगत रूपमा पर्यटक भिसामा आउने विदेशीहरूको छिटपुट गतिविधिमा मात्र सीमित छैन, बरु संस्थागत र नीतिगत छिद्रहरूको समेत व्यापक दुरुपयोग भएको महालेखापरीक्षकका वार्षिक प्रतिवेदनहरूले औँल्याएका छन् । गरिबी निवारण, जीविकोपार्जन र बाल शिक्षाको नाममा भित्रिने करोडौँ वैदेशिक सहायता (आइएनजिओ र एनजिओको कोष) धार्मिक उद्देश्यपूर्तिका लागि खर्च भइरहेको सरकारी लेखापरीक्षणबाटै पुष्टि भएको छ । महालेखाको प्रतिवेदनअनुसार बेलायती संस्था ‘टियर फण्ड’ ले मकवानपुर र नुवाकोटमा गरिबी निवारणको अनुमति लिएर धार्मिक शिक्षा फैलाएको र कर्मचारी नियुक्तिमा समेत निश्चित धर्मावलम्बी हुनैपर्ने विभेदकारी सर्त राखेको भेटिएको थियो । त्यस्तै, ‘भिजन नेसनल्स’, ‘मर्सी मिसन हिमालय’ र ‘इस्लामिक संघ नेपाल’ जस्ता संस्थाहरूले घुम्ती तालिम र जीविकोपार्जनका कार्यक्रममार्फत धार्मिक गतिविधि सञ्चालन गरेको तथ्य महालेखाका ५५औँ र ५८औँ प्रतिवेदनमा उल्लेख छ ।
प्रस्तुत घटनाक्रम र सरकारी प्रतिवेदनहरूको गहिराइमा पुग्दा राज्यका नियामक निकायहरूको फितलो अनुगमन प्रणाली छर्लङ्ग हुन्छ । पहिलो, पर्यटक भिसामा आएका व्यक्तिहरूले दुर्गम गाउँसम्म पुगेर स्वास्थ्य शिविर वा राहत वितरण गर्दा स्थानीय प्रशासन, पालिका र सुरक्षा निकायहरू बेखबर रहनुले गृह प्रशासनको गुप्तचर संयन्त्रमाथि प्रश्न उठाएको छ । दोस्रो, समाज कल्याण परिषद्ले वैदेशिक सहायताका परियोजनाहरूलाई स्वीकृति दिँदा कागजी उद्देश्य मात्र हेर्ने तर फिल्डमा भइरहेको वास्तविक खर्च र गतिविधिको प्रभावकारी अनुगमन नगर्दा दातृ निकायको रकम धर्म प्रचारमा मोडिँदै गएको छ । विपन्नता, अशिक्षा र स्वास्थ्य सेवाको अभाव झेलिरहेका नागरिकहरूलाई आर्थिक प्रलोभन वा उपचारको आशा देखाएर आस्था परिवर्तन गराउनु मानवीय सेवा नभई सांस्कृतिक र धार्मिक अतिक्रमण हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५८ ले कसैको धर्म परिवर्तन गराउन वा सोको उद्योग गर्न निषेध गर्दै त्यस्तो कसुर गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने तथा विदेशी नागरिक भए कैद भुक्तानपछि निष्कासन गर्ने स्पष्ट व्यवस्था गरेको छ । कानुनी प्रावधान यति कडा हुँदाहुँदै पनि वर्षौँदेखि दाङ, पोखरा, काठमाडौँ र पूर्वी तराईका जिल्लाहरूमा यस्ता घटना दोहोरिरहनुले कानुन कार्यान्वयनको पक्ष कमजोर रहेको देखाउँछ ।
नेपालको मौलिक पहिचान भनेकै बहुधार्मिक सहिष्णुता र सामाजिक सद्भाव हो । सेवाको आवरणमा हुने यस्ता योजनाबद्ध गतिविधिले समाजमा धार्मिक ध्रुवीकरण निम्त्याउने र दीर्घकालमा राष्ट्रिय सुरक्षामा समेत आँच पुऱ्याउने जोखिम रहन्छ । गृह मन्त्रालयले हालै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई विदेशी नागरिकको गतिविधि निगरानी गर्न दिएको निर्देशन सकारात्मक सुरुवात भए पनि पर्याप्त छैन । राज्यले भिसा प्रणालीमा कडाइ गर्नुका साथै वैदेशिक सहायता परिचालन गर्ने गैरसरकारी संस्थाहरूको वित्तीय तथा कार्यक्रमिक पारदर्शितामाथि शून्य सहनशीलताको नीति नअपनाएसम्म सेवाको आवरणमा हुने धर्मको यो खेल रोकिने देखिँदैन ।