ईसी-काउन्सिल र वान कभरद्वारा नेपालमा एआई गभर्नेन्ससम्बन्धी पहल अघि बढाइँदै
वि.सं.२०८३ मंसिर ८ मंगलवार १४:२३
shares

काठमाडौं, ८ मंसिर । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा यससँग सम्बन्धित सुरक्षा, जोखिम व्यवस्थापन र नियमनका विषयलाई सम्बोधन गर्न ईसी-काउन्सिल (EC-Council) र वान कभर प्रा.लि. (One Cover Private Limited) ले दक्षिण एसियामा एआई गभर्नेन्ससम्बन्धी पहल अघि बढाएका छन्।
कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार उक्त पहलअन्तर्गत संस्थाहरूमा एआई प्रणालीको सुरक्षित प्रयोग, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनका लागि ईसी-काउन्सिलको ‘एडप्ट, डिफेन्ड, गभर्न’ (Adopt, Defend, Govern–ADG) फ्रेमवर्क कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।
ईसी-काउन्सिलका सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्तावमा अघि बढाइएको उक्त पहल वान कभरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीसहितको गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स (GRC) टोलीमार्फत कार्यान्वयन गरिने जनाइएको छ।
एडीजी फ्रेमवर्कका प्रमुख पक्ष
कम्पनीका अनुसार एडीजी फ्रेमवर्कले एआई प्रणालीको डिजाइन, डेटा व्यवस्थापन, सञ्चालनकालीन सुरक्षा तथा अनुगमनलगायतका विषय समेट्छ। यसमा १२ वटा कन्ट्रोल फेमिली, १८० भन्दा बढी अपरेसनल कन्ट्रोल र ७२० भन्दा बढी प्राविधिक तथा नीतिगत मापदण्ड समावेश गरिएको दाबी गरिएको छ।
फ्रेमवर्क तीन मुख्य आधारमा विभाजित छ। ‘एडप्ट’ अन्तर्गत संस्थाले प्रयोग गर्ने एआई प्रणालीको छनोट तथा जोखिम मूल्याङ्कन गरिन्छ। ‘डिफेन्ड’ अन्तर्गत प्रम्प्ट इन्जेक्सनलगायतका सम्भावित साइबर जोखिमबाट एआई प्रणालीलाई सुरक्षित राख्ने विषय समेटिएको छ। त्यस्तै, ‘गभर्न’ अन्तर्गत एआई प्रणालीको प्रयोगमा जवाफदेहिता, पारदर्शिता र संस्थागत निगरानीलाई प्राथमिकता दिइएको छ।
अन्तर्राष्ट्रिय मापदण्डसँग आबद्धता
वान कभर र ईसी-काउन्सिलले उपलब्ध गराएको विवरणअनुसार एडीजी फ्रेमवर्कका नियन्त्रण प्रणालीहरू ९० भन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड, कानुनी व्यवस्था तथा साइबर जोखिमसम्बन्धी सन्दर्भ सामग्रीसँग आबद्ध छन्।
यसमा NIST AI RMF, ISO/IEC 42001, EU AI Act, MITRE ATLAS, MITRE ATT&CK तथा OWASP Top 10 for LLM and Agentic Applications समावेश छन्।
फ्रेमवर्कमा ‘Evidence Once. Answer Many.’ अवधारणा पनि समेटिएको छ। यस अवधारणाअन्तर्गत एउटै प्रमाणलाई विभिन्न नियामकीय आवश्यकता, आन्तरिक लेखापरीक्षण तथा सुरक्षा परीक्षणका लागि उपयोग गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, ADMIT, DECIDE, EMIT र COMMIT नामका चार चरणमार्फत एआई एजेन्टको पहिचान, समय, नीतिगत जाँच तथा मानवीय स्वीकृतिसम्बन्धी अभिलेख राख्ने प्रणाली समावेश गरिएको विवरणमा उल्लेख छ।
नेपालमा कार्यान्वयनको तयारी
नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायमा एडीजी फ्रेमवर्क लागू गर्ने उद्देश्य राखिएको कम्पनीहरूले जनाएका छन्। यसअन्तर्गत संस्थाको विद्यमान एआई गभर्नेन्स अवस्था मूल्याङ्कन, जोखिम तथा कमीकमजोरीको पहिचान र कार्यान्वयनसम्बन्धी परामर्श उपलब्ध गराइने बताइएको छ।
कम्पनीका अनुसार संस्थाहरूको वर्तमान अवस्था मूल्याङ्कनपछि ३०, ६० र ९० दिनको कार्ययोजना तयार गरिनेछ। यस प्रक्रियामा एआई गभर्नेन्स तयारी मूल्याङ्कन (Readiness Assessment), ग्याप एनालाइसिस तथा कार्यान्वयन परामर्श समावेश हुने जनाइएको छ।
उक्त पहल ईसी-काउन्सिलको एडीजी फ्रेमवर्क र वान कभरको क्षेत्रीय साइबर सुरक्षा तथा जीआरसीसम्बन्धी विशेषज्ञतामा आधारित रहेको कम्पनीहरूको विवरणमा उल्लेख छ।

















