भन्सार सूचना प्रणाली र भीसीटीएस एकीकृत गर्ने सरकारको प्रस्ताव
वि.सं.२०८३ मंसिर ८ मंगलवार १४:१०
shares

काठमाडौं, ८ मंसिर । सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ। भन्सारबाट वैधानिक रूपमा आयात भएका वस्तुको ढुवानीका क्रममा अन्य वस्तु थप्ने वा बीच बाटोमा सामान अनलोड गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो प्रस्ताव गरिएको हो।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा भन्सार सूचना प्रणालीलाई भीसीटीएससँग आबद्ध गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
उनका अनुसार भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसमा उल्लेख भएका वस्तुको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्न सकिन्छ। यसबाट भन्सारबाट आयात भएका वस्तु र तिनको ढुवानीमा प्रयोग हुने सवारीसाधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित हुने उनको भनाइ छ।
छलफलका क्रममा सचिव उपाध्यायले भैरहवा भन्सारबाट सामान लिएर आएको एउटा सवारीसाधनमा बुटवलमा चोरीपैठारीका जुत्ता थपिएको र उक्त सवारीसाधन काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले यस्ता गतिविधि नियन्त्रणका लागि भन्सारबाट निस्किएका सामानको विवरण र ढुवानी विवरणलाई एकीकृत प्रणालीमा राख्नुपर्ने बताए।
उनले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुको विवरण भीसीटीएसमा प्रविष्ट गर्ने विद्यमान व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको विवरण भने भन्सारको अनलाइन सूचना प्रणालीमार्फत स्वतः भीसीटीएसमा जोडिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
सचिव उपाध्यायले भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय र चोरीपैठारीलाई फरक कानुनी विषयका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भन्सारबाट वैधानिक रूपमा आयात भएका वस्तुको विवरण प्रणालीमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार रुपैयाँ र त्यसपछि एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ। चोरीपैठारीमा संलग्न व्यक्तिमाथि भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही हुने उनले स्पष्ट पारे।
त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायी तथा सरोकारवालालाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्ने विषय पनि उनले उठाएका छन्। आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरेपछि कार्यान्वयन हुनुभन्दा निश्चित समयअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा समावेश गर्नुपर्ने उनको सुझाव छ।
उनले विधेयकको उपदफा ५ मा वेबमा आधारित अनलाइन ढुवानी अनुगमन प्रणालीलाई भन्सार सूचना प्रणालीसँग आबद्ध गर्ने व्यवस्था थप्न प्रस्ताव गरेका छन्। साथै, मापदण्ड कार्यान्वयनअघि सम्बन्धित पक्षलाई पूर्वजानकारी दिने व्यवस्था गर्न पनि समितिका सदस्यहरूसमक्ष आग्रह गरेका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो।

















