Dhulikhel Eco Banner new

कञ्चनपुर क्रिकेटको इतिहास : एनपीएल तेस्रो सिजनमा १३ खेलाडी

1.81K
shares

यो लेखको शिर्षकले कन्चनपुर जिल्लाले कसरी यति खेलाडी NPL -3 मा समाबेश गर्यॊ वा कसरी यो सम्भव भयो भन्ने प्रश्न उठछ यसको पछाडी एक दिनको कथा छैन । यसका लागि कञ्चनपुरको क्रिकेट इतिहास  पल्टाउनु पर्ने हुन्छ यो केवल खेलाडीहरूले मात्र बनाएको इतिहास वा कथा होइन यसको पछाडी धेरै ठुलो कथा छ। यो सीमित स्रोतसाधन, आर्थिक अभाव, भौगोलिक विकटता, अवसरको असमानता र केही व्यक्तिको असाधारण इच्छाशक्तिले निर्माण गरेको एउटा खेल आन्दोलनको कथा हो ।

आज नेपाल प्रिमियर लिग (NPL) मा कञ्चनपुरका खेलाडीहरूको उल्लेखनीय उपस्थिति देख्दा यसको जग बसाल्न वर्षौँअघि गरिएको संघर्ष सम्झनु आवश्यक छ।  आज क्रिकेटको राष्ट्रिय मञ्चमा कञ्चनपुरको नाम गर्वका साथ लिइन्छ। तर यो स्थानसम्म आइपुग्न जिल्लाले करिब चार दशकको यात्रा तय गरेको छ। आज मैदानमा देखिएका खेलाडीहरूको सफलताभित्र त्यस्ता व्यक्तिहरूको पसिना, त्याग र योगदान लुकेको छ, जसको नाम खेलको इतिहास लेख्दा प्रायः छुट्ने गरेको छ हुन्छ पनि।

कञ्चनपुरमा २०४० सालमा सुरु भएको क्रिकेट र अवसरको खोजी

कञ्चनपुरमा क्रिकेटको सुरुवात २०४० सालतिर भएको मानिन्छ। त्यसबेला क्रिकेट आजजस्तो लोकप्रिय थिएन। फुटबल र भलिबलको तुलनामा क्रिकेटलाई सीमित समुदायको खेलका रूपमा हेरिन्थ्यो। आर्थिक रूपमा सक्षम परिवारका युवाहरूले मात्र क्रिकेट खेल्न सक्ने अवस्था थियो। क्रिकेटका सामग्री महँगा थिए, खेल्ने मैदानको अभाव थियो र व्यवस्थित प्रशिक्षणको व्यवस्था पनि थिएन। तर यस्ता कठिनाइका बीच पनि कञ्चनपुरका युवाहरूले क्रिकेटप्रतिको आकर्षण बढ्दो थियो यहि कुराको ज्ञात सबैलाई थियो।

२०४८ सालतिर जिल्लामा लिग प्रतियोगिताहरू सञ्चालन हुन थाले। यसले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न ठूलो भूमिका खेल्यो। विभिन्न क्लब र समूहबाट खेलाडीहरू निस्कन थाले। प्रतिभाको कमी थिएन, तर प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने संस्थागत बाटो थिएन। त्यतिबेला कञ्चनपुरका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता तथा जय शाह कपजस्ता प्रतियोगितामा सहभागी हुन पनि निकै कठिनाइ भोग्नुपर्थ्यो। काठमाडौंसम्म पुग्न आर्थिक स्रोत जुटाउनुपर्ने, खेलाडीको दर्ता र छनोटमा समस्या हुने तथा राष्ट्रिय क्रिकेटको संरचनासँग प्रत्यक्ष सम्बन्ध नहुँदा धेरै प्रतिभा स्थानीय प्रतियोगितामै सीमित हुन बाध्य थिए। २०४० देखि २०५८ सालसम्मको लामो अवधिमा कञ्चनपुरमा क्रिकेट खेल्ने संस्कृति त विकास भयो, तर जिल्लाको क्रिकेटले राष्ट्रिय संस्थागत पहिचान प्राप्त गर्न सकेको थिएन।

कञ्चनपुर क्रिकेटलाई केन्द्रसँग जोड्ने अभियानकर्ता

कञ्चनपुर क्रिकेटको इतिहासमा शेरजंग बहादुर चन्दको योगदानलाई छुटाएर आजको उपलब्धिको चर्चा गर्नु अधुरो हुन्छ। राष्ट्रिय क्रिकेटसम्म पुग्न नसकेको आफ्नै अनुभव र जिल्लाका प्रतिभाशाली खेलाडीहरूले भोग्नुपरेको कठिनाइले उनलाई एउटा फरक सोचका साथ अघि बढ्न प्रेरित गर्‍यो। हाल सुरक्षा निकायमा सिनियर अधिकृतका रूपमा कार्यरत चन्दले २०५५ सालदेखि कञ्चनपुरको क्रिकेटलाई काठमाडौंस्थित केन्द्रीय क्रिकेट संरचनासँग जोड्ने प्रयास सुरु गरेको बताइन्छ। त्यसको उद्देश्य केवल जिल्लामा प्रतियोगिता गराउनु थिएन, कञ्चनपुरमा रहेका प्रतिभालाई राष्ट्रिय क्रिकेटको मूलधारमा पुर्‍याउनु थियो।

२०५८ सालमा जिल्ला क्रिकेट संघ दर्ता गर्ने र २०५९ सालमा नेपाल क्रिकेट संघसँग संस्थागत सम्बन्ध स्थापित गर्ने प्रक्रियामा उनले सचिब पदमा रही सक्रिय भूमिका निर्वाह गरे। त्यसबेला नेपाल क्रिकेट संघका तत्कालीन केन्द्रीय सदस्य चतुरबहादुर चन्दको सहयोग पनि महत्त्वपूर्ण रह्यो। त्यतिबेला क्रिकेटलाई स्थानीय पैसावाल र सीमित पहुँच भएका व्यक्तिहरूको खेलका रूपमा बुझ्ने प्रवृत्ति थियो। क्रिकेट खेल्नका लागि राम्रो ब्याट, प्याड, ग्लोब्स, जुत्ता र अन्य सामग्री चाहिने भएकाले गरिब तथा ग्रामीण समुदायका युवाहरू यसबाट टाढै रहने अवस्था थियो। जिल्लामा क्रिकेट खेल्ने केही समिति र समूहहरू भए पनि तिनले ग्रामीण क्षेत्रका प्रतिभालाई समेट्न नसकेको उनको बुझाइ थियो। त्यसैले उनले पुरानो सीमित घेरालाई तोडेर नयाँ संरचनामा क्रिकेट विस्तार गर्ने सोच अघि सारे। त्यस अभियानमा हाल नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला क्रिकेटका अध्यक्ष वीरेन्द्रबहादुर चन्दलाई जिल्ला सदस्यका रूपमा जोडेर गाउँगाउँमा खेलाडी खोज्ने अभियान सञ्चालन गरिएको थियो।  यस अभियानको मूल मान्यता स्पष्ट थियो, क्रिकेट धनीको मात्र खेल होइन, प्रतिभा र अवसर पाए गरिब परिवारको बच्चा राष्ट्रिय टीममा पुगाउने जुन पछि साकार मात्र भएन अत्यधिक सफल भयो।

चन्दले भारतमा क्रिकेटको प्रशिक्षण तथा अनुभव हासिल गरेका दीपक मल्लसँग सहकार्य गरेर खेलाडी उत्पादनमा जोड दिएको बताइन्छ। स्थानीय मैदान, उपलब्ध खाली सार्वजनिक जग्गा र सीमित स्रोतसाधन प्रयोग गरेर अभ्यासको वातावरण निर्माण गर्ने प्रयास भयो। दुई जना साथीले एकैपटक आठवटा पिच निर्माण गरेको प्रसङ्ग पनि कञ्चनपुरको क्रिकेट इतिहासमा स्मरणीय छ। त्यो समयमा आर्थिक व्यवस्थापन निकै कठिन थियो। व्यक्तिगत स्रोत र उधारोबाट प्रतियोगिता तथा क्रिकेट गतिविधि सञ्चालन गर्दा पाँच लाख रुपैयाँभन्दा बढी ऋण लागेको र अन्तत कञ्चनपुर छाडेर काठमाडौं जानुपर्ने अवस्था आएको उनको संघर्षसँग जोडिएका व्यक्तिहरू बताउँछन्। उनले रोपेको बीउले विस्तारै फल दिन थाल्यो। पछि वीरेन्द्रबहादुर चन्दलगायतका व्यक्तिहरूले त्यस अभियानलाई निरन्तरता दिए। पुराना खेलाडीहरूले नयाँ पुस्तालाई प्रशिक्षण दिन थाले। स्थानीय प्रतियोगिता, विद्यालयस्तरका खेल र उमेर समूहका प्रतियोगिताले खेलाडी उत्पादनको आधार बलियो बनाउँदै लगे।

कञ्चनपुर क्रिकेटका वर्तमान अभियन्ता अधक्ष्य वीरेन्द्रबहादुर चन्दले पनि विभिन्न अवसरमा पुरानो पुस्ताले गरेको मेहनत र शेरजंग बहादुर चन्दको दूरदृष्टिले अहिलेको सफलता सम्भव भएको स्थानीय क्रिकेट वृत्तमा चर्चा हुने गरेको छ। शेरजंग आज सक्रिय क्रिकेट व्यवस्थापनबाट टाढा रहे पनि जिल्लाको क्रिकेटलाई केन्द्रसँग जोड्ने प्रारम्भिक अभियानका एक महत्त्वपूर्ण पात्रका रूपमा उनको योगदानको चर्चा NPL को दौरान रहेको छ  ।

२०६० देखि २०८३ सम्म : खेलाडी उत्पादनको निरन्तर यात्रा

कञ्चनपुरले क्रिकेटमा प्राप्त गरेको सफलताको अर्को महत्त्वपूर्ण आधार विभिन्न पुस्ताका खेलाडी हुन्। यहाँ क्रिकेटको विकास कुनै एक पुस्ताको उपलब्धि होइन। पुराना खेलाडीले बाटो बनाए, त्यसपछि आएका खेलाडीले राष्ट्रिय पहिचान बनाए र नयाँ पुस्ताले अन्तर्राष्ट्रिय क्रिकेटसम्म आफ्नो क्षमता प्रमाणित गर्न थाले। यस यात्रामा शक्ति भण्डारी, चन्द्र साउद, विनोद भण्डारी, नरेश बुढाएर, गणेश बुढाएर, प्रदीप ऐरी, प्रेम तामाङ, सुरेन्द्र चन्दजस्ता नामहरू उल्लेखनीय छन्। त्यसपछि राष्ट्रिय तथा उमेर समूहको क्रिकेटमा पहिचान बनाएका खेलाडीहरूमा ललित भण्डारी, दिलीप नाथ, सञ्जीव जोरा, सन्दीप जोरा, लोकेश बम, शेर मल्ल, धीरेन्द्र चन्द, कमलसिंह ऐरी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्दलगायतका नाम जोडिन्छन्।

विशेषगरी पछिल्लो पुस्तामा कञ्चनपुरले राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव उल्लेखनीय रूपमा बढाएको छ। यी खेलाडीहरूको उपस्थितिले कञ्चनपुरलाई राष्ट्रिय क्रिकेटमा चिनाएको छ। सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहराजस्ता खेलाडीले उमेर समूहको क्रिकेटमा पनि जिल्लाको प्रतिनिधित्व गरेका छन्।  यसका अतिरिक्त राष्ट्रिय तथा उमेर समूहका छनोटमा देखिएका राहुल चन्द, अनुराग सिंह, राहुल भण्डारी, अशिष भट्ट, अर्जुनसिंह साउद, कैलाश ऐर, अनिल थापा, सञ्जय बोहरा, खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, नारायण जोशी, नरेन साउद, वसन्त कार्की, संगीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र नाथ र गजेन्द्र बोहराजस्ता नामले नयाँ पुस्ताको सम्भावना देखाएका छन्। यीमध्ये केही खेलाडी छनोटको बन्द प्रशिक्षणमा समेत परेका थिए। कञ्चनपुरको महिला क्रिकेटलाई पनि बिर्सन मिल्दैन। माया रावत साउदलगायतका खेलाडीले महिला क्रिकेटको प्रतिनिधित्व गर्दै आएका छन्। जिल्लाको क्रिकेट विकासलाई पुरुष खेलाडीको सफलतामा मात्र सीमित गरेर हेर्नु हुँदैन।

कञ्चनपुरको पहिचान : NPL मा १३ खेलाडीको उपस्थिति

कञ्चनपुर क्रिकेटको विकासले अहिले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये राष्ट्रिय क्रिकेटको व्यावसायिक मञ्चमा सबैभन्दा बढी खेलाडी प्रतिनिधित्व गराउने जिल्लाका रूपमा कञ्चनपुर अगाडि देखिएको छ। २०८३ सालमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा कञ्चनपुरका १३ जना खेलाडी विभिन्न टोलीबाट खेलिरहेको जानकारी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले दिएका छन्। सुदूरपश्चिमका नौ जिल्लाबाट जम्मा ३० खेलाडी NPL मा सहभागी भएको उल्लेख छ।

कञ्चनपुरबाट NPL मा खेलिरहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सन्दीप जोरा, दिलीप नाथ, विकास ऐरी, आदित्य महता, भीम सार्की, साजन गौतम, कमलसिंह ऐरी, आकाश चन्द, किरण ठगुन्ना खेलाडीहरू हुन्।

यी नामहरूले कञ्चनपुरको क्रिकेट उत्पादन क्षमता र प्रतिभाको फैलावटलाई देखाउँछन्। विशेषगरी एउटै जिल्लाका खेलाडीले विभिन्न फ्रेन्चाइज टोलीमा स्थान बनाउनु जिल्लाको खेल विकासका लागि गर्वको विषय हो। यहाँ एउटा महत्त्वपूर्ण पक्ष के छ भने कञ्चनपुरले केवल स्थापित राष्ट्रिय खेलाडी मात्र उत्पादन गरिरहेको छैन, नयाँ पुस्तालाई पनि व्यावसायिक क्रिकेटको अवसर दिलाइरहेको छ। NPL को तेस्रो संस्करणका लागि आयोजित सुदूरपश्चिम प्रतिभा खोज कार्यक्रममा कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी पनि छनोट भएका थिए। यसले कञ्चनपुरको क्रिकेट अब केही स्थापित नाममा मात्र निर्भर नरहेको केहि खेलाडी अझै मौका कुरिरहेका छन् ।

कैलाली र सुदूरपश्चिमको क्रिकेटको योगदान

कञ्चनपुरको क्रिकेट विकासलाई सुदूरपश्चिमको समग्र क्रिकेट आन्दोलनबाट अलग गरेर हेर्न मिल्दैन। कैलाली र कञ्चनपुरबीच लामो समयदेखि क्रिकेट प्रतिस्पर्धा, खेलाडी आदानप्रदान र आपसी सहयोगको सम्बन्ध रहँदै आएको छ। कैलालीका अर्जुन खड्का र मनु शाहजस्ता पुराना खेलाडीको योगदान पनि यस क्षेत्रको क्रिकेट इतिहासमा स्मरण गर्नुपर्छ। उनीहरूले प्रतिनिधित्व गरेको पुरानो पुस्ताले सुदूरपश्चिममा क्रिकेटको वातावरण निर्माण गर्न भूमिका खेलेको थियो। त्यस्तै कञ्चनपुर र कैलालीबीचका प्रतियोगिताले खेलाडीको क्षमता परीक्षण गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने र राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने अवसर दिएका थिए। जिल्लागत प्रतिस्पर्धाले नै सुदूरपश्चिममा क्रिकेटको आधार विस्तार गर्न सहयोग पुर्‍याएको हो। सुदूरपश्चिमको क्रिकेट विकासमा खेलाडी उत्पादनसँगै प्रशिक्षण, अम्पायरिङ, प्रतियोगिता व्यवस्थापन र खेल पत्रकारिताको योगदान पनि महत्त्वपूर्ण छ।

विदेशमा पुगेका खेलाडी र क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध

कञ्चनपुरबाट क्रिकेट खेलेर पछि अध्ययन, रोजगारी वा अन्य अवसरका लागि विदेश पुगेका खेलाडीहरूको योगदान पनि उल्लेखनीय छ। विदेश पुगेपछि पनि क्रिकेटसँग सम्बन्ध कायम राख्ने, स्थानीय नेपाली समुदायमा प्रतियोगिता आयोजना गर्ने र नयाँ पुस्तालाई क्रिकेटमा जोड्ने कामले जिल्लाको क्रिकेट संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सहयोग गरेको छ। अस्ट्रेलियामा क्रिकेट लिग सञ्चालन तथा व्यवस्थापनसँग जोडिएका प्रेम उप्रेतीजस्ता व्यक्तिहरूलाई यस सन्दर्भमा सम्झन सकिन्छ। विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी र खेलाडीहरूले आफ्ना अनुभव, सम्पर्क र व्यवस्थापकीय सीपमार्फत नेपालको क्रिकेटलाई सहयोग गर्न सक्ने सम्भावना धेरै छ। यस्ता खेलाडी तथा अभियन्ताको योगदानलाई पनि जिल्लाको क्रिकेट इतिहासमा समेट्नुपर्छ। तर विदेशमा क्रिकेट खेलिरहेका वा लिग सञ्चालन गरिरहेका सबै व्यक्तिको नाम, उनीहरूको कञ्चनपुरसँगको सम्बन्ध र भूमिका छुट्टाछुट्टै अभिलेखबाट पुष्टि गर्नुपर्ने हुन्छ।

सफलताको पछाडि रहेका तत्कालीन समस्या

कञ्चनपुरको क्रिकेटले सफलता प्राप्त गरे पनि यसको इतिहास सहज थिएन। जिल्लाले भोगेका समस्या आज पनि धेरै हदसम्म समाधान हुन सकेका छैनन्।

१. आर्थिक स्रोतको अभाव

पहिलो समस्या आर्थिक स्रोत थियो। क्रिकेटका सामग्री महँगा हुने भएकाले सामान्य परिवारका बालबालिकालाई खेलमा जोड्न कठिन थियो। प्रतियोगिता आयोजना गर्न, खेलाडीलाई काठमाडौं लैजान र जिल्ला स्तरमा प्रशिक्षण सञ्चालन गर्न व्यक्तिगत सहयोग तथा ऋणमा निर्भर हुनुपर्ने अवस्था थियो।

२. राष्ट्रिय संरचनासँग कमजोर पहुँच

२०५८ सालअघि जिल्लाको क्रिकेटले संस्थागत रूपमा केन्द्रसँग पर्याप्त सम्बन्ध स्थापित गर्न सकेको थिएन। राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक प्रक्रिया, दर्ता, छनोट र सम्पर्कका विषयमा स्थानीय खेलाडीले कठिनाइ भोग्नुपर्थ्यो।

३. क्रिकेट प्रशिक्षकको अभाव

यो समस्या आजसम्म पनि कायम रहेको सार्वजनिक तथ्यांकले देखाउँछ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कञ्चनपुरले क्रिकेट प्रशिक्षक प्राप्त नगरेको र जिल्लामा पुराना तथा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा नयाँ पुस्तालाई प्रशिक्षण दिइरहेको समाचार २०८० सालमा सार्वजनिक भएको थियो। अन्य १७ खेलका प्रशिक्षक रहे पनि क्रिकेट प्रशिक्षक नहुनु विडम्बनापूर्ण अवस्था हो।

४. व्यवस्थित क्रिकेट मैदानको अभाव

कञ्चनपुरले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरे पनि व्यवस्थित क्रिकेट मैदान प्राप्त गर्न सकेको छैन। महेन्द्रनगरस्थित क्रिकेट मैदान निर्माणको काम २०७२ सालदेखि सुरु भए पनि एक दशकसम्म पूरा हुन सकेन। प्रारम्भिक वर्षहरूमा बजेट अभावका कारण निर्माण कार्य रोकिएको थियो। २०८३ सालको कार्तिकमा प्रकाशित समाचारअनुसार राष्ट्रिय खेलकुद परिषद्ले मैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको र ठेक्का प्रक्रियाको तयारी भइरहेको जानकारी जिल्ला क्रिकेट संघका अध्यक्षले दिएका थिए।

५. खेलाडी पलायन र अवसरको अभाव

जिल्लामा प्रतिभाशाली खेलाडी उत्पादन भए पनि सबैले निरन्तर अभ्यास, उचित पारिश्रमिक र व्यावसायिक अवसर प्राप्त गर्न सकेका छैनन्। राम्रो प्रशिक्षण र पूर्वाधारको अभावमा केही खेलाडी अन्य सहर वा विदेश जान बाध्य भएका छन्।

६. विद्यालयस्तरको क्रिकेट कमजोर

क्रिकेटको दीर्घकालीन विकासका लागि विद्यालय तहदेखि नै प्रतियोगिता, प्रशिक्षण र खेल सामग्री उपलब्ध हुनुपर्छ। तर जिल्लाका सबै विद्यालयमा क्रिकेटलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वातावरण बनेको छैन।

७. संस्थागत अभिलेख र सम्मानको कमी

कुन वर्ष कुन खेलाडी उत्पादन भए, कसले राष्ट्रिय प्रतियोगिता खेले, कसले प्रशिक्षण दियो, कसले मैदान निर्माण गर्‍यो र कसले आर्थिक सहयोग गर्‍यो भन्ने विषयको व्यवस्थित अभिलेख आवश्यक छ। इतिहास निर्माण गर्ने धेरै पुराना खेलाडी र अभियन्ताको योगदान नयाँ पुस्ताले थाहा पाउन सकेको छैन।

कञ्चनपुरको क्रिकेटमा पुराना खेलाडी र अभियन्ताको भूमिका

कञ्चनपुरको क्रिकेट सफलताको एउटा विशेषता के हो भने यहाँ राष्ट्रिय स्तरमा स्थापित भएका धेरै खेलाडीले आफ्नो व्यावसायिक यात्रासँगै स्थानीय खेलाडीलाई सहयोग गर्दै आएका छन्। पुराना खेलाडीले नयाँ खेलाडीलाई ब्याटिङ, बलिङ, फिल्डिङ र खेलको अनुशासन सिकाउने काम गरेका छन्। यही अनौपचारिक प्रशिक्षणले कञ्चनपुरको क्रिकेटलाई टिकाइराखेको छ। कञ्चनपुरको क्रिकेट इतिहासमा जिल्ला क्रिकेट संघका प्रथम अध्यक्ष हरिश थापा, पूर्व अध्यक्ष दीपकराज चालिसे, अम्पायर गणेश आग्री, प्रशिक्षक वीरेन्द्र शाही र वर्तमान नेतृत्वमा रहेका वीरेन्द्रबहादुर चन्दलगायतका व्यक्तिको योगदान पनि उल्लेखनीय छ। यसले के देखाउँछ भने क्रिकेटको विकास खेलाडीको प्रदर्शनबाट मात्र सम्भव हुँदैन। खेलाडी उत्पादन गर्ने प्रशिक्षक, प्रतियोगिता आयोजना गर्ने व्यवस्थापक, खेलको प्रचार गर्ने पत्रकार, आर्थिक सहयोग गर्ने व्यक्ति र मैदान उपलब्ध गराउने निकाय सबैको उत्तिकै भूमिका हुन्छ।

इतिहासले बिर्सन नहुने एउटा पक्ष

कञ्चनपुरको क्रिकेट आज जहाँ पुगेको छ, त्यसको श्रेय कुनै एक व्यक्ति वा एउटा पुस्तालाई मात्र दिन मिल्दैन। २०४० सालतिर क्रिकेट सुरु गर्ने खेलाडी, २०४८ सालतिर स्थानीय लिग सञ्चालन गर्ने अग्रज, २०५५ सालदेखि जिल्लालाई केन्द्रसँग जोड्ने प्रयास गर्ने अभियन्ता, २०५८ र २०५९ सालमा संस्थागत सम्बन्ध निर्माण गर्ने व्यक्तिहरू, गाउँगाउँबाट खेलाडी खोज्ने अभियानमा लाग्ने साथीहरू र आजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सबै यो इतिहासका हिस्सा हुन्। तर इतिहासको एउटा महत्त्वपूर्ण पक्ष के हो भने सफलताको परिणाम देखिँदा त्यसको बीउ रोप्ने व्यक्तिहरू प्राय ओझेलमा पर्छन्। कतिपय खेलाडी, अभियन्ता, सहयोगी हराएका छन् र हराउदै छन् तर नेपाल क्रिकेटको शिर्ष स्थानमा रहेका कन्चनपुरलाइ राम्ररी बुझेका चतुर बहादुर चन्दले ध्यान दिनु जरुरी छ।  कतिपय खेलाडी अभियन्ता गरिबीका कारण NPL हेर्न नसक्ने अवस्था छ तर सम्मान त परै जाओस पास सम्म नपाउने यस्ता देशभरीका पुर्ब खेलाडी, अभियन्ता तथा क्रिकेटमा लागनिकर्ताहरु हालका नेतृत्वलाइ कसरी हेर्दै छन् त्यो वहाहरुलाई थाहा छैन वा भएर थाहा नपाए जस्तो गरेको छ स्प्रस्त छ । जे होस् हाल क्रिकेट सफल भएको छ सबैलाई बधाई छ ।

शेरजंग बहादुर चन्दले आफ्नो क्रिकेट जीवनमा राष्ट्रिय टोलीसम्म पुग्न नपाएको पीडालाई जिल्लाका अरू युवाले भोग्न नपरोस् भन्ने सोचबाट अभियान सुरु गरेको आफैँ राष्ट्रिय खेलाडी बन्न नसके पनि कञ्चनपुरबाट राष्ट्रिय खेलाडी उत्पादन हुने वातावरण निर्माण गर्ने सपना देखे। त्यसका लागि व्यक्तिगत समय, स्रोत र आर्थिक जोखिमसमेत उठाए। आज दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्दा, विनोद भण्डारीले राष्ट्रिय क्रिकेटमा आफ्नो अनुभव प्रस्तुत गर्दा, भीम सार्कीले ब्याटिङ गर्दा, हेमन्त धामी र आकाश चन्दले बलिङ गर्दा अनि कञ्चनपुरका १३ खेलाडीले NPL को मैदानमा प्रतिस्पर्धा गर्दा त्यसको पछाडि दशकौँको सामूहिक प्रयास देखिन्छ।

वीरेन्द्रबहादुर चन्दले निरन्तरता दिएको अभियान, दीपक मल्ललगायतका व्यक्तिको खेलाडी उत्पादनमा सहयोग, पुराना खेलाडीको स्वयंसेवी प्रशिक्षण र नयाँ पुस्ताको मेहनतले कञ्चनपुरलाई क्रिकेटको उर्वर भूमि बनाएको छ। क्रिकेटको सक्रिय व्यवस्थापनबाट टाढा रहे पनि उनले सुरु गरेको अभियानको परिणाम आज मैदानमा देखिएको छ। कुनै पनि व्यक्तिको योगदानको वास्तविक मूल्य उसले आफूले प्राप्त गरेको उपलब्धिले मात्र होइन, उसले अरूका लागि सिर्जना गरेको अवसरले पनि निर्धारण गर्छ।

कञ्चनपुरको क्रिकेट इतिहासले यही सन्देश दिन्छ सही सोच, सामूहिक प्रयास र निरन्तरताले सीमित स्रोतसाधन भएको जिल्लालाई पनि राष्ट्रिय खेलकुदको केन्द्र बनाउन सक्छ। कञ्चनपुरले क्रिकेटका खेलाडी मात्र उत्पादन गरेको छैन, उसले अभावसँग लडेर सपना पूरा गर्न सकिन्छ भन्ने उदाहरण पनि उत्पादन गरेको छ।