Dhulikhel Eco Banner new

नेपालगञ्जमा रगतको चरम अभाव, दैनिक ८० पिन्टसम्म माग

676
shares

काठमाडौं, ४ मंसिर । चाडपर्वका कारण लामो सार्वजनिक बिदा हुँदा नेपालगञ्जमा रगतको अभाव कायमै रहेको छ । अस्पतालहरूमा रगतको माग उच्च रहे पनि पर्याप्त सङ्कलन हुन नसक्दा रक्तसञ्चार केन्द्रलाई मागअनुसार रगत उपलब्ध गराउन चुनौती भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार नेपालगञ्जका अस्पतालमा मात्रै दैनिक ७० देखि ८० पिन्टसम्म रगतको माग हुने गरेको छ । तर, मागको तुलनामा रगतको मौज्दात निकै कम रहेको उनले बताए ।

रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले नियमित रक्तदान आवश्यक रहेको बताए । उनका अनुसार संस्थागत रक्तदान कार्यक्रमले रगत सङ्कलनमा महत्वपूर्ण सहयोग पुर्‍याउँछ ।

रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरस्थित शाखाबाट समेत रगत सङ्कलन गर्दै आएको छ । कोहलपुरका आठ अस्पतालमा दैनिक २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालमा १० देखि १२ पिन्ट रगतको माग हुने गरेको छ । त्यस्तै, नेपालगञ्जका २७ अस्पतालमा करिब ८० पिन्ट रगत आवश्यक पर्ने गरेको केन्द्रले जनाएको छ ।

कतिपय अवस्थामा बिरामीका आफन्तबाट सट्टापट्टा प्रणालीमार्फत रगत लिने दिने गरिएको रेग्मीले बताए । केही संस्थाले छिटफुट रूपमा रक्तदान गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । केही दिनभित्र अर्को संस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको उनले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवर्द्धन सम्झनाले विभिन्न माध्यमबाट रक्तदान भइरहेको बताए । उनका अनुसार रगत लिने र दिने प्रणालीबाट पनि अभाव व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

उनले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या उत्पन्न नभएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा स्वयंसेवी रक्तदातामार्फत रगतको व्यवस्था मिलाउने गरिएको बताए ।

यसैबीच, ४५ पटकसम्म रक्तदान गरिसकेका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रक्तदानलाई सामाजिक दायित्वका रूपमा विकास गर्नुपर्ने बताए । रगत लिने व्यक्तिले पनि आवश्यक पर्दा अरूका लागि रक्तदान गर्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्ने उनको भनाइ छ ।

शर्माका अनुसार जन्मदिन तथा वैवाहिक उत्सवका अवसरमा रक्तदान गर्ने प्रचलन बढ्दै गएको छ । उनले स्थानीय सरकारलाई वर्षमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रहसमेत गरेका छन् ।