Dhulikhel Eco Banner new

कृषि उत्पादन र आयात प्रतिस्थापनका लागि यान्त्रिकीकरणमा जोड

936
shares

काठमाडौं, ४ मंसिर । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र कृषि उपजको आयात प्रतिस्थापनका लागि कृषि यान्त्रिकीकरणको विस्तार आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा सहभागी सरकारी अधिकारी, निजी क्षेत्र तथा विकास साझेदारका प्रतिनिधिहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, स्वदेशी कृषि उपकरण उत्पादन, वित्तीय पहुँच र नीतिगत व्यवस्थाको विषय उठाएका हुन्।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि यन्त्र, उपकरण, प्रविधि तथा सेवासम्बन्धी सामग्री प्रदर्शनमा राखिएका छन्।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले वि.सं. २०७० मा मिनी टिलर प्रदर्शनबाट सुरु भएको प्रदर्शनी पछिल्ला वर्षमा विस्तार हुँदै आएको बताए। उनका अनुसार यस वर्षको प्रदर्शनीमा बीउबिजन, पशुपालन, मल, दाना तथा मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित कम्पनी र संस्थाहरू सहभागी छन्।

शर्माले कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै कृषि उपकरण आयातमा भन्सार सहुलियत, उपकरण खरिदका लागि किसानलाई सहज ऋण तथा मर्मतसम्भारसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रदर्शनीस्थलको भौतिक पूर्वाधार सुधार गर्नुपर्ने विषय पनि उठाए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताए। उनले भन्सार विभागको तथ्याङ्क उद्धृत गर्दै आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिसम्बन्धी वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। उक्त तथ्याङ्कमा खाद्यान्नसँगै कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने उनले स्पष्ट पारे।

मन्त्री साहले परम्परागत खेती प्रणालीलाई आधुनिक तथा व्यावसायिक बनाउन कृषि यान्त्रिकीकरणको भूमिका महत्त्वपूर्ण रहेको बताए। किसानलाई उत्पादन बढाउन आवश्यक प्रविधि र उपकरणको पहुँच उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

उनले कृषि मेसिनरी व्यवसायीलाई उपकरण आयात र बिक्रीसँगै स्वदेशमै कृषि औजार, मेसिन तथा पार्टपुर्जा उत्पादन गर्ने उद्योग विकासमा लगानी गर्न आग्रह गरे। नेपाली भूगोल र किसानको आवश्यकताअनुसार साना, किफायती तथा मर्मत गर्न सहज उपकरण उत्पादनलाई प्राथमिकता दिनुपर्ने पनि उनले बताए।

ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले कृषि क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्न किसान र प्रविधि प्रदायकबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर बैंकले कृषि क्षेत्रमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, कृषि श्रमिकको अभाव र युवाको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणले कृषि यान्त्रिकीकरणको आवश्यकता बढाएको बताए। उनले किसानको आवश्यकता र खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्नुपर्ने धारणा राखे।

तुलाधरका अनुसार एफएओले कृषि उत्पादन, भण्डारण तथा प्रशोधनका क्षेत्रमा काम गरिरहेको छ। उनले महँगा कृषि उपकरण खरिद गर्न नसक्ने साना किसानले पनि यान्त्रिकीकरणको सेवा उपयोग गर्न सक्ने व्यवस्था आवश्यक रहेको बताए। यसका लागि साझा उपकरण उपयोग तथा जलवायुमैत्री कृषि यान्त्रिकीकरणका कार्यक्रम महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि उपकरणमा अनुदान वितरण गर्दा किसानको वास्तविक आवश्यकता र उपकरणको उपयोगितालाई आधार बनाउनुपर्ने बताए। उनले कतिपय स्थानमा आवश्यकताभन्दा बढी उपकरण वितरण हुँदा प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै अनुदान प्रणालीलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि यन्त्र तथा उपकरणको गुणस्तरमा ध्यान दिनुपर्ने बताए। उनले अनुदानको अत्यधिक प्रयोगले उपकरणको गुणस्तर र बजारमा त्यसको मूल्याङ्कनमा असर पर्न सक्ने धारणा व्यक्त गरे।

राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई उत्पादन वृद्धि र लागत न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले यसका लागि नीतिगत स्पष्टता, लगानी तथा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दिगो कृषि यान्त्रिकीकरणको प्रयोग विस्तार गर्नुपर्ने बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले पछिल्लो समय कृषि उपकरणको पहुँच गाउँस्तरसम्म विस्तार हुँदै गएको बताए। उनले कृषि यान्त्रिकीकरणसम्बन्धी नीति पुनरावलोकन, अनुदान वितरणको प्रभावकारिता तथा उपकरणको मर्मतसम्भारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उपकरण उपलब्ध गराउनुका साथै तिनको सञ्चालन र मर्मतका लागि आवश्यक जनशक्ति तथा सेवा पनि उपलब्ध हुनुपर्ने उनले बताए।

नामियाकी उपाध्यक्ष सुनिता निमाफुकिले कृषि यान्त्रिकीकरणको विस्तारका लागि सरकार, व्यवसायी र किसानबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले कृषि उपकरणको पहुँच विस्तार, आधुनिक प्रविधिबारे जानकारी तथा सञ्चालन र मर्मतसम्भारसम्बन्धी सीप विकासमा ध्यान दिनुपर्ने उल्लेख गरिन्।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा आयोजकले १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने जनाएको छ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी सञ्चालन गरिएको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको छ।

तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अनुमान छ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणसम्बन्धी प्रविधि राखिएका छन्। प्रदर्शनीमा किसान, कृषि उद्यमी तथा व्यवसायीलाई कृषि उपकरण र प्रविधिबारे जानकारी उपलब्ध गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।