Dhulikhel Eco Banner new

जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने प्रमाणपत्र अनिवार्य गरिदै

7.46K
shares

काठमाडौं, १६ साउन । बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई सजग गराएको छ ।

बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको बीमितसँगको नाता राम्रोसँग अध्ययन नगरेको भन्ने निष्कर्षमा पुगेको बीमा समितिले अबदेखि बीमा गर्दा इच्छाइएको व्यक्तिसँगको नाता खुल्ने सरकारी कागजात अनिवार्य गर्नुपर्ने भएको छ ।

बीमा नियमावलीमा समेत सो कुरा उल्लेख भएकोले इच्छाइएको व्यक्तिसँगको नाता खुलाएर मात्रै बीमा गर्नुपर्ने व्यक्त गर्न लागिएको हो । बीमा समितिले जीवन बीमा क्षेत्रमा अपराध नबढोस् भन्ने उद्देश्यले बीमा गर्दा नै इच्छाइएको व्यक्तिको नाता प्रमाण समावेश गर्न निर्देशन दिन लागेको हो ।

बीमितको आमा बाबुसँगको नाता नागरिकतामा हुने हुँदा बाबुको नाम राख्न चाहनेलाई थप कागजात आवश्यक पर्दैन । इच्छाइएको व्यक्तिको नाममा आमाको नाम राख्न चाहेको खण्डमा भने त्यति सजिलो छैन ।

नेपालको प्रचलित कानुन बमोजिम नागरिकतामा आमाको नाम अनिवार्य छैन । त्यसैले आमाको नाम इच्छाइएको व्यक्तिको रुपमा राख्न चाहेमा बीमितले थप कानुनी प्रक्रिया पुरा गर्नुपर्ने, गाउँपालिकामा पुगेर आमा छोराको नाता प्रमाणित कागजात ल्याउनुपर्ने हुन्छ । नागरिकता बनाएका दाजु भाइ तथा दिदी बहिनीको नाम समावेश गर्न समस्या पर्दैन किनभने नागरिकताबाटै खुल्नेछ।

नयाँ लागू हुन लागेको व्यवस्था अनुसार श्रीमतीको नाम राख्न नागरिकतामा नाम हुनु पर्ने वा विवाह दर्ताको प्रमाणपत्र भएमा हुनेछ । विवाह दर्ता नभएको र नागरिकतामा नाम नभएकाहरुको हकमा भने नाता प्रमाणित गर्नुपर्नेछ ।