Dhulikhel Eco Banner new

शिवाङमा सुविधायुक्त छात्रवास निर्माण

4.77K
shares

काठमाडौं, ९ भदौं । पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको छ । छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ ।

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो । दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिए। चौबीस कोठे तीन तले सो भवन ८० विद्यार्थी राख्न सकिने क्षमताको छ । “विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीन कर्मचारीको व्यवस्था गरेका छौँ”, उनले भने ।

चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । “अभिभावकसमेत खुसी भएका छन्”, प्रधानाध्यापक केसीले भने ।

छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउछन् ।