Dhulikhel Eco Banner new

पूर्वराजाका भिनाजु र भान्जा सहित ३१ जना विरुद्ध अख्तियारमा मुद्दा

5.16K
shares

काठमाडौं, ९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु र भान्जा सहित ३१ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ज्ञानेन्द्रका भिनाजु कुमार खड्ग विक्रम शाह तथा भान्जा दिवश विक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दर्ता गरेको हो । जनकपुरको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक भोगचलन गरेको भन्दै अख्तियारले विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरेको हो । सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम, नाप नक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्ने मालपोत तथा नापी कार्यालयका तत्कालीन प्रमुखहरू सहित ३१ जना विरुद्ध मुद्दा दर्ता गरिएको आयोगद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पूर्वराजाका भिनाजु कुमार खड्ग विक्रम शाहको नाममा ८ बिघा १० कठ्ठा १२ धुर सार्वजनिक जग्गा दर्ता गरिएको अनुसन्धानबाट खुलेको छ । उनले गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीसमेतलाई प्रभाव र प्रलोभनमा पारी आफ्नो नाममा गैरकानूनी रूपमा दर्ता गराएको अख्तियारको दाबी छ । उनको मृत्यु भए पनि सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने भन्दै २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ निजको नाममा नै हाल रहेको सम्पत्तिबाट वा निजको नामबाट निजको हकवालाको नाममा सम्पत्ति गएको भए तिनीहरूबाट असुल उपर गर्न माग दाबी लिइएको छ ।

अख्तियारले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरिदिने गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, मालपोतका तत्कालीन खरिदार जगदेव कामतीसहित आफ्नो नाममा दर्ता गराउने ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।