नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको छ : उपमहासचिव पुन
वि.सं.२०७९ भदौ १६ बिहीवार १७:५२
shares

काठमाडौं, १६ भदौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमश वातावरण बन्दै गएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको छलफलमा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए। विद्युत्को बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो । सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उनले निकट भविष्यमा नै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास व्यक्त गरे ।
उनले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव जिएमआरले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बङ्गलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताए । जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बङ्गलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको बताए ।
विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो । आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन । पछिल्लो पटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ । जिएमआरले पाँच सय मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ ।















