Dhulikhel Eco Banner new

बालक माथि यौन शोषण गर्ने एनजीओ फेडेरेशन मोरङका अध्यक्ष ढकालाई निलम्बन गर्न माग

6.6K
shares

काठमाडौं, १६ भदौ । यौन शोषण गरेको आरोप लागेको गैर सरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) मोरङका अध्यक्षलाई पदबाट निलम्बन गरेर अनुसन्धान गर्नका लागि विभिन्न संघ संस्थाले माग गरेका छन् । महासंघको लेटर हेडमा विज्ञप्ती निकालेर विभिन्न १८ वटा संघ संस्थाले गैर सरकारी संस्था महासंघ मारङका अध्यक्ष राजेन्द्र प्रसाद ढकाललाई कानुन अनुसार कारबाही गर्न माग गरेका हुन् ।

प्रहरीले अध्यक्ष ढकाललाई बुधबार एक १३ वर्षिया बालकमाथि अप्राकेतिक यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङमा बालक माथि यौन शोषण गरेको किटानी जाहेरीका आधारमा प्रहरीले ढकाललाई पक्राउ गरेको थियो ।

विज्ञप्तीमा भनिएको छ ‘बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, संगठन र निकायको जिम्मेवारीमा रहेका ब्यक्तिबाट यस्तो किसिमको निन्दनीय काम भएको प्रति हामी दुःख व्यक्त गर्दछौँ । अतः आरोपित व्यक्तिमाथि प्रभावकारी अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ ।’ यसका साथै विज्ञप्तीमा आरोपित व्यक्ति गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मोरंगको अध्यक्ष समेत भएकाले तत्काल अध्यक्ष पदबाट निलम्बन गरी कानुनी कारबाहीको लागि सहयोग गर्न गैरसरकारी संस्था महासंघ नेपाल केन्द्रीय समिति समक्ष माग गरिएको छ ।

कारबाहीको माग माग गर्ने संघ संस्थाहरुमा गैर सरकारी सस्था महासंघ नेपाल जिल्ला शाखा मोरङ, माईति नेपाल, नारी विकास संघ, मानव अधिकार तथा वातावरण मञ्च (फरेन), सामुदायिक विकास प्रयास नेपाल (प्रयास नेपाल), सानाहातहरु नेपाल, एविसी नेपाल, र जागरण नेपाल रहेका छन् । त्यस्तै मानव अधिकार रक्षक परिषद, सिविन नेपाल, ओरेक, आत्म निर्भरता अभियान (श्री) नेपाल, मानव अधिकार एलाइन्स जिल्ला शाखा मोरङ, मानव अधिकार सञ्जाल मोरङ, नेपाल ग्रामिण विकास समाज केन्द्र, साझा सवालका लागि साझा मञ्च (कोकन), महिला जागृति केन्द्र विराटनगर र बाल समाज नेपाल विराटनगरले कडा भन्दा कडा कारबाहीका लागि माग गरेका छन् ।