Dhulikhel Eco Banner new

राष्ट्र बैंकले छैठौं पटक पनि आफैं किन्यो ट्रेजरी विल्स

4.55K
shares

काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले यो पटक पनि आफैंले ट्रेजरी विल्स खरिद गरेको छ । महँगो ब्याजदरमा विल्स नबेच्ने भन्दै यो पटक पनि आफैंले खरिद गरेको हो ।

राष्ट्र बैंकले ९ प्रतिशत हाराहारी बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी विल्स बिक्री गरेको छ। महँगो ब्याज पेश गर्ने बैंकहरुलाई भने विल्स बिक्री नगरी आफैले खरिद गरेको छ।

राष्ट्र बैंकले सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी विल्स बिक्री गरेको थियो जसमा ३६४ दिन अवधिको १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल्स आफैले खरिद गरेको छ। केन्द्रिय बैंकले ३६४ दिन अवधिको ट्रेजरी विल्समा अधिकतम ९.०८ प्रतिशत ब्याजदर पेश गर्ने बैंकलाई मात्र विल्स बिक्री गरेको छ।

केन्द्रिय बैंकले बिक्री गरेको ९१ दिन अवधिको ट्रेजरी विल्समा औसत ब्याजदर ९.०५ प्रतिशत कायम भएको छ भने ३६४ दिन अवधिको ट्रेजरी विल्समा ९.०३ प्रतिशत दर कायम भएको छ।

यसअघि पनि केन्द्रिय बैंकले ५ पटकसम्म ट्रेजरी विल्स आफैले खरिद गरेको थियो। बैंकहरुले अत्याधिक धेरै दर पेश गरेको भन्दै केन्द्रिय बैंकले ट्रेजरी विल्स आफैले खरिद गरेको हो। विगतमा पनि बैंकहरुले केन्द्रिय बैंकसँग लिने सापटीको दरभन्दा धेरै दर पेश गरेमा ट्रेजरी विल्स आफैले खरिद गर्ने गरेको थियो।