Dhulikhel Eco Banner new

भेरी नदीले खतराको तह पार गर्‍यो

6.68K
shares

काठमाडौं, २१ असोज । लगातारको वर्षका कारण भेरी नदीमा पानीको सतह खतराको तहमा पुगेको छ । पानीको बहाब बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ ।

खतराको विन्दु भनेको ५ मिटर हो । तर अहिले भेरी नदीको बाढीको जल स्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ । अहिले पानी परिरहेकाले आउँदो ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् । बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित ठाउँमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । स्थानीय प्रशासनले बिहीवार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षयलगायतका घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।