Dhulikhel Eco Banner new

स्वास्थ्य बीमाबाट कसरी लिने ३५ सय तिरेर १ लाखको सुविधा ?

5.29K
shares

काठमाडौं, २१ असोज । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै लाभ लिन सकिन्छ । वार्षिक रुपमा ३ हजार ५०० रुपैयाँ शुल्क तिरेरे १ लाख रुपैयाँसम्मको औषधि उपचार गर्न पाइन्छ । सरकारले ल्याएको यो कार्यक्रम स्वास्थ्य बीमा बोर्ड मार्फत कार्यान्वयनमा रहेको छ ।
बोर्डले पाँच जना सदस्य बराबर एक युनिट मानेको छ ।

यो युनिटबाट बोर्डले वार्षिक ३ हजार ५०० रुपैयाँ शुल्क लिन्छ र उक्त परिवारलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउँछ । पाँच जनाभन्दा बढी ७ जनासम्म भएको परिवारका लागि बोर्डले प्रतिपरिवार थप ७ सय रुपैयाँ लिन्छ र थप २० हजारको सेवा दिन्छ । अर्थात ७ सदस्य भएका परिवाले १ लाख २० हजार रुपैयाँको स्वास्थ्य सेवा उपयोग गर्न पाउँछन् ।

बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरूले घर–घरमा पुगेर ती व्यक्तिहरूलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् । दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरूलाई कार्ड प्रदान गर्ने गर्दछन् । सो कार्डका आधारमा बिरामी भएको अवस्थामा १ लाख रुपैयाँ सम्मको औषधि उपचार गर्न पाउछन् ।

बीमा शुल्क तिरेपछि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी समेत प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमामा अवद्ध भएपछि सेवा लिनका लागि केही समय कुनु पर्ने हुन्छ । अर्थात वैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि सेवा लिन सकिने व्यवस्था छ । साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लिन सकिने व्यवस्था रहेको छ ।