भोटेकोशी बाढी प्रभावितलाई आइएमई ग्रुपको १० करोड सहयोग
वि.सं.२०८३ भदौ १४ आइतवार १०:३०
shares

काठमाडौं, १४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। सहयोग आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उपलब्ध हुनेछ।
सहयोगमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लेल्यान्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउण्डेसनलगायत कम्पनी सहभागी हुनेछन्।
यसैगरी, आइएमई ग्रुपअन्तर्गत कार्यरत कर्मचारीहरूले समेत आफ्नो एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्।
ग्रुपले विदेशबाट नेपाल पठाइने सहयोग रकमका लागि निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको जनाएको छ। खल्ती र आइएमई मोबाइल वालेटमार्फत सरकारको राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ।
आइएमई फाउण्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि ग्रुपले जनाएको छ।
बाढीबाट बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावित परिवारलाई खाद्यान्न सहयोग तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गर्न लागिएको आइएमई ग्रुपले जनाएको छ।
बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ग्रुपले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।


















