Dhulikhel Eco Banner new

एशियाकप विजेताको विश्वकपमा खराब प्रदर्शन, नाबियासँगै ५५ रनले पराजित

4.69K
shares

काठमाडौं, ३० असोज । पछिल्लो समय श्रीलंकन क्रिकेट टोलि निकै कमजोर बन्दै गएको छ । कुनै समय बलियो दावेदारी प्रस्तुत गर्ने टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंका पछिल्लो समय एक दिवसिय मान्यता पाएका राष्ट्रसँग समेत पराजित हुन थालेको हो । जसको उदाहरणका रुपमा आजदेखि सुरु भएको टि–२० विश्वकप क्रिकेटलाई लिन सकिन्छ ।

टि–२० विश्वकप २०२२ मा सिधै सुपर १२ मा स्थान बनाउँन नसकेको श्रीलंकले एशिया कप क्रिकेटको उपाधि जिते पछि पुनः लयमा फर्किएको विश्लेषण गर्न सुरु गरिएको थियो । तर एशियाकप उसले राम्रो खेलेरभन्दा अरुले नराम्रो खेलेकाले जितेको विश्लेषण सुरु भएको छ ।

समूहबाट छनोट भएर सुपर १२ मा पुग्ने टोलिका रुपमा समेत हेरिएको श्रीलंका पहिलो खेलमा नै नराम्रोसँग पराजित हुन पुग्यो । त्यो पनि टेष्ट मान्यता नपाएको नामिबियासँग । यो पराजयले उसलाई सुपर १२ पुग्ने सम्भावनामा पनि गम्भिर धक्का पुगेको छ । अब समूहको एक खेलमा पराजित भएमा मात्रै पनि श्रीलंका अर्को चरणमा पुग्नबाट बञ्चित हुनेछ । नामिबियाको भने टेष्ट मान्यता राष्ट्र श्रीलंका माथिको जितले अर्को चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

यो समूहमा नेदरल्याण्ड र युएई रहेका छन् । यो समूहबाट नेदरल्याण्ड र श्रीलंका अर्को चरणमा पुग्ने आशा गरिएको थियो । नेदरल्याण्डले पनि पहिलो खेलमा युएईलाई पराजित गरेकाले पनि समिकरणमा थप रोमान्चकता थपेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको श्रीलंका १९ ओभर १०८ रनमा समेटियो र ५५ रनले पराजित भयो ।

श्रीलंकाका लागि दासुन शनाकाले सर्वाधिक २९ रनको योगदान दिए । त्यस्तै भानुका राजपाक्षेले २० रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रर्दशन गर्न सकेनन् । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा नामिबियाका लागि ब्रिनाड स्कोल्ज, बेन शाइकोन्गो, जान फ्रायकलिंक, डेबिड बिजेले समान २÷२ विकोट लिए । त्यस्तै जेजे स्मिथले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि जान फ्रायालिंकले ४४ रनको योगदान दिए । जेजे स्मिटले अविजित ३१ रन बनाएका थिए । त्यस्तै स्टेफन ब्राडले २६ तथा कप्तान ग्रहार्ड इरामुस तथा जान निकोलसले समान २०/२० रन बनाए । श्रीलंकाका लागि प्रमोद मधुशंकाले २ तथा चमिका करुणारत्ने, दुश्मन्था चमिरा, वानिन्दु हशरंगा र महेश तिक्षणाले समान १÷१ विकेट लिए ।