Dhulikhel Eco Banner new

शाखा रहित बैंकिङ प्रणाली कतिको सुरक्षित छ ?

7.03K
shares

काठमाडौं, ३० असोज । शाखारहित बैंकिङ प्रणालीले दुर दराजमा रहेका नागकिरलाई पनि बैंकको पँहुचमा ल्याउन अनि बैंकलाई पनि धेरै ठूलो आर्थिक भार पर्दैन भन्ने हो । यस्तो सिस्टम विश्वभर हुने गरेको छ । तर त्यस्तो शाखा रहित बैंकिङ प्रणाली कति सुरक्षित र भरपर्दा छ त भन्ने विषयमा पनि सोच्नु पर्ने जरुरी देखिन्छ ।

केही दिन अघि माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ प्रणालीबाट रकम हिनामिना भएको घटना बाहिरियो । रकम जम्मा गर्न भने बैंकका एजेण्टलाई रकम बुझाए पनि ग्राहकको खातामा रकम जम्मा नभएको पाइए पछि यो विषय बाहिर आएको हो । गाउँघरका सर्वसाधारणबाट रकम लिएर बैंकमा जम्मा नगरेको यो घटनाले शाखा रहित बैंकिङ प्रणालीमा नै प्रश्न उठाएको छ । यो एउटा घटना मात्रै हो । यसबाट समयमै पाठ सिकेर बैंकहरु समयमै सचत हुन जरुरी छ ।

ग्राहकसँग रकम जम्मा गरेको बैंकको भौचर छ तर उनीहरुको खातामा पैसा भने छैन । जबकी शाखा रहित बैंकिङ प्रणालीमा भौचरको समय प्रयोग नै हुँदैनन् । स्थानीयले बैंकमा रकम नभएको जानकारी बैंकको शाखामा गराउँदा समेत बैंकले खासै चासो दिएन् ।

खातामा रकम नभएका व्यक्तिहरुले दिएको निवेदन पनि बैंकले लिन मानेन । जब विषय सञ्चार माध्यममा आयो त्यसपछि भने बैंक पनि गम्भिर भयो । खातामा जम्मा रकम जम्मा गरेका व्यक्तिहरुले कतिले उपचारका लागि रकम झिक्न खोजेका थिए भने कतिले छोरा छोरीको विवाहका लागि रकम निकाल्न खोजेका थिए ।

यो घटना माछापुच्छ्रे बैंक रुपन्देही जिल्ला समरीमाई गाउँपालिका–५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानाको हो । स्थानीय सर्वसाधारणलाई त्यहाँका एजेण्टले ठगेका हुन् । रकम हिनामिनामा स्थानीय एजेण्ट निरन्जन पाठक र सिकन्द्र ठाकुरले बदमासि गरेको बैंकको दाबी छ ।

विदेशमा गएर पसिना बगाएर जम्मा गरेको रकम, तथा सामान्य खेतीकिसानी गरेर बैंकमा राख्दा सुरक्षित हुन्छ भन्ने आसामा रहेका स्थानीय जब पैसा झिक्नका लागि बैंकमा पुगे उनीहरुले जम्मा गरेकोभन्दा निकै कम रकम खातामा भएको जानकारी पाए ।

बैंकले आफ्नो शाखा खोल्न नसक्ने वा लगानी बढी लाग्ने अवस्थामा शाखारहित बैंकिङ सेवा खोल्न दिने प्रचलन विश्वभर रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टको भनाइ छ । ससांरभर चलन भए पनि यो घटनाबाट सुरक्षाको चुनौति थपिएको उनले बताए ।

‘बैंकले शाखा खोल्नका लागि कर्मचारी, भवन, सुरक्षा गार्ड लगायतका कारणले बढी कस्ट लाग्छ तर त्यहीको स्थानीयलाई जिम्मा दिँदा खर्च कम लाग्ने र सर्वसाधारणले पनि बैंकिङ सुविधा पाउने भएकाले यस्तो व्यवस्था गरिएको हो, तर माछापुच्छ्रेको यो घटनाले यसको विश्वसनियतामा प्रश्न खडा गरेको छ,’ उनले भने ।

ठूलो रकमको कारोबारभन्दा पनि स्थानीय स्तरमा रहेको पैसा बचतका लागि यस्तो व्यवस्था गरिएको हुन्छ । तर यस्ता घटनाले यसको विश्वसनियतामा आँच आउने उनले बताए । यसका लागि बैंकहरु चनाखो हुनु पर्ने अवस्था आएको उनको भनाइ छ । यस्ता घटनामा संलग्नलाई तत्काल कारबाही गर्ने तर्फ राष्ट्र बैंकले पनि केही कदम चाल्नु पर्ने उनले बताए । पहिले बैंकको शाखा खोल्दा नै राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था थियो । तर अहिले शाखारहित सेवाका लागि शाखा खोलेको जानकारी दिने नीतिका कारण पनि यस्तो भएको हुन सक्ने उनको भनाइ छ ।

यस्तो कार्यमा संलग्नलाई तत्काल कारबाही गरेर रकम असुल उपर गर्नु पर्ने र बैंकहरुलाई पनि प्रतिनिधि छनोट गर्दा ध्यान दिन उनले आग्रह गरे । यस्ता घटनाबाट पाठ सिकेर समयमै सचेत नहुने हो भने ठूलो समस्या आउन सक्ने सम्भावना पनि कायम रहने उनले बताए ।

यो विषयले राष्ट्र बैंकलाई पनि गम्भिर बनाएको भन्दै यस विषयमा बैंकसँग सोधपुछ गर्ने कार्य भइरहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । यस विषयमा प्रहरीलाई पनि कारबाहीका लागि पत्र लेखिएको अवस्था रहेको उनको भनाइ छ । यस्ता घटनाले बैंकहरु चनाखो बन्नु पर्ने उनले बताए ।

बैंकहरुले एजेण्टलाई निगरानी गर्नुका साथै विश्वासिलो मानिसलाई एजेण्टको रुपमा राख्नु पर्ने उनको भनाइ छ । ‘एउटा घटनाले गर्दा सबै असुरक्षित छन भन्न त मिलेन तर सुरक्षा चुनौ ितभने थपिएको छ, त्यस तर्फ चनाखो हुनु पर्ने अवस्था देखियो,’ उनले भने ।

बचतकर्ताको रकम भुक्तानी गर्नका लागि बैंकले पनि पहल गरिरहेको जानकारी प्राप्त भएको भन्दै बचतकर्ताको रकम कुनै पनि हालतमा फिर्ता गराइने उनको दाबी थियो । यता बैंकले भने यो गैर कानुनी रुपमा भएकाले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको जनाएको छ । बैंकका सूचना अधिकारी सुनिल खतिवडाका अनुसार एजेन्टले बैंकले दिएको सिस्टमभन्दा बाहिरबाट कारोबार गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डमा नै शाखारहित बैंकिङ सेवा सञ्चालन गरिएको र एजेन्टले बदमासी गरेकाले यस्तो अवस्था आएको उनले भनाइ छ ।

सूचना अधिकारी खतिवाडाका अनुसार शाखा रहित बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकले एजेन्ट खडा गरेर उसलाई डिभाइस दिने र सो डिभाइसबाट कार्ड र औँठा छापा प्रयोग गरेर सेवा लिन सकिने व्यवस्था गरिएको हुन्छ । तर रुपन्देहीको यो घटनामा संलग्न ऐजेण्टले डिभाइस प्रयोग नगरेको उनको दाबी छ ।

एजेण्टले बदमासि गरेको जानकारी हुनासाथ प्रहरीलाई खबर गरेर कारबाहीको प्रक्रियामा गइसकेको उनको भनाइ छ । अहिलेसम्म कति जनाको कति रकम हिनामिना भयो भन्ने विषयमा पनि आधिकारीक जानकारी प्राप्त नभएको उनले बताए । बैंकिङ प्रणालीभन्दा बाहिरबाट गरिएको कारोबारको क्षतिपूर्ति एजेण्ठले बेहोर्नु पर्ने सूचना अधिकारी खतिवडाले बताए ।

शाखा रहित बैंकिङ प्रणालीमा बैंक भौचर र छापको आवश्यकता नै नपर्ने सूचना अधिकारी खतिवडाको भनाइ छ । उनीहरुले भौचर र छाप नै नक्कली बनाएको उनको आरोप छ ।

यस्ता गतिविधिले बैंकप्रतिशतको विश्वसनियता गुम्ने र सुरक्षाको पनि प्रश्न उठ्ने बैंकिङ क्षेत्रका जानकारहरुको भनाइ छ । बचत कर्ताको रकम फिर्ता गर्ने विषयभन्दा पनि यस्ता घटनाले मानिसमा बैंक प्रतिको विश्वसनियता नै गुम्मे खतरा पनि रहेको छ । यो एउटा घटना त हो भनेर खेलाचि गरियो भने यसले भविष्यमा ठूलो रुप लिन सक्छ यस तर्फ सरोकार वाला निकायको समयमा नै ध्यान जान जरुरी देखिन्छ ।