‘ब्याजदर बढेका कारण व्यवसायी पलायन हुने अवस्थामा’
वि.सं.२०७९ असोज ३१ सोमवार ०८:२५
shares
ध्रुर्ब थापा, जोत्साना श्रेष्ठ र भक्त बहादुर हमाल
काठमाडौं, ३१ असोज । बैंकहरुले बढाएको ब्याजदरका कारण पलायन हुने अवस्था आएको व्यवसायीहरुले बताएका छन् । कोरोना लगातय कारणले समस्या भइरहेको व्यवसायमा लगानी गर्न सक्ने अवस्था नरहेको र यही अवस्था रहेको पलायन हुनु पर्ने स्थिति आउने व्यवसायीहरुले बताएका हुन् ।
बैंकहरुलाई खुल्ला छोडिसके पछि नियन्त्रण गर्नका लागि गारो हुने र निजी क्षेत्र ध्वस्त हुने अवस्था आउन सक्ने व्यवसायीहरुको भनाइ छ । अर्थमन्त्रालयले राष्ट्र बैंकलाई देखाउने र राष्ट्र बैंकको विवादको मारमा व्यवसायी परेको केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएन अफ नेपालका अध्यक्ष भक्त बहादुर हमालको भनाइ छ । मन्त्रालय राष्ट्र बैंक र राष्ट्र बैंकले मन्त्रालयालाई देखाएर पन्छिन खोजेको जस्तो देखिएको उनले बताए ।
अर्थत्रन्त्रलाई बलियो बनाउनका लागि सबै मिलेर जानु पर्ने अवस्थामा राज्यका दुई निकायको टसलले गर्दा व्यवसायीहरुलाई त समस्या भएको छनै राज्यलाई नै ठूलो घाटा भइरहेको छ । उत्पादनशील क्षेत्रमा राज्यले लगानी गर्न सक्ने अवस्था नै नरहेको कतिपय व्यवसायीहरुको भनाइ छ ।
बढेको ब्याजदरमा व्यवसाय गर्न सक्ने अवस्था नै नरहेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाको भनाइ छ । ‘दोहोरो अंकको ब्याजदर हुनु भनेको व्यवसायीका लागि ठूलो चुनौति हो । यसमा कसैले पनि व्यवसाय गर्न सक्दैनन्,’ उनले भने । अहिले व्यवसायीहरुले १५–१६ प्रतिशत ब्याज लिएर व्यवसाय गर्न सक्ने अवस्था छैन् । व्यवसायीहरुले हात खडा गरेर पलायन हुनु पर्ने अवस्था देखिएको छ ।
‘अहिलेको अवस्था आउनुमा नेपाल राष्ट्र बैंकको नीति मुख्य कारण हो । अर्थमन्त्रालय र राष्ट्र बैंकको द्धन्द्धको मारमा व्यवसायीहरु परे । यस्तो अवस्थामा व्यवसाय गर्नका लागि कुनै व्यवसायीहरु तयार होलान जस्तो मलाइ लाग्दैनन्,’ उनले भने । अहिले मानिसको क्रय शक्ति नै घटेको अवस्थामा ब्याजदर बढाउँदा लागत बढ्छ । लागत बढेसँगै मूल्य पनि स्वाभाविक रुपमा बढ्ने र व्यापार ठप्प हुने अवस्थामा पुगेको थापाको भनाइ छ ।
‘अहिलेको दशैँमा नै व्यापार २५ प्रतिशत मात्रै भएको अवस्था छ, त्यस माथि बढेको ब्याजमा ऋण लिएर व्यवसाय गर्दा लागत बढ्छ र मूल्य बढ्छ, उपभोक्ताले खरिद गर्न नसक्ने वस्तु उत्पादन गरेर के गर्ने,’ उनले भने ।
यता नेपाल खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले व्यापार गर्नु पाप गरेजस्तै भएको दुखेसो पोखेका छन् । सबैतिरबाट मार परेको भन्दै व्यापार गरेर पाप गरेको जस्तो महसुस भइरहेको उनको भनाइ छ । सबै व्यवसाय धरापमा परेको समयमा राज्यले सहुलियत दिनु पर्ने ठाउँमा उल्दै ब्याजदर बढाएर व्यवासाय गर्ने वातावरण नै विगारेको व्यवसायीहरुको आरोप छ ।
बजारमा पैसाको अभाव रहेको र व्यापार नभएको अवस्थामा व्यवसायीलाई ऋण तिर्न समेत समस्या भइरहेको नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष जोत्साना श्रेष्ठले बताइन् । यो अवस्था कायम रहेको अवस्थामा व्यावसायी फुटपाथमा पुग्ने अवस्था देखिएको उनको भनाइ छ । व्यक्तिको क्रयशक्ति घटेको अवस्था, लागत बढ्ने अवस्था, बैंकको ब्याजदर बढेको अवस्थामा व्यवसाय धान्नकै लागि समस्या भइरहेको उनले सुनाइन् ।















