पहिलो त्रैमासिकमा साढे १५ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च न्यून
वि.सं.२०७९ कात्तिक १ मंगलवार १५:१३
shares

काठमाडौं, १ कात्तिक । सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा साढे १५ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५.५१ प्रतिशत रकम पहिलो त्रैमासिक (साउन–असोज) मा खर्च गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खर्च भएको रकमको ठूलो हिस्सा चालु खर्च भएको छ भने पुँजीगत खर्च न्यून रहेको छ । सरकारले चालु खर्चतर्फ १८.९१ प्रतिशत अर्थात २ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ । पुँजीगत खर्च तर्फ भने ५.१७ प्रतिशत अर्थात १९ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीतग तर्फ ३ खर्ब ८० अर्ब र चालु तर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
चालु र पुँजीगत दुबै तर्फ गरी सरकारले पहिलो त्रैमासमा २ खर्ब ७८ अर्ब बराबरको खर्च गरेको महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । असोज मसान्तसम्म वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १५.०९ प्रतिशत हो । वित्तीय व्यवस्थामा सरकारले २ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।















