भाइटीका लागाउन सुरु
वि.सं.२०७९ कात्तिक १० बिहीवार ११:३७
shares

काठमाडौं, १० कात्तिक । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । यो वर्षको भाइटीका आज ११ बजेर ३७ मिनेटदेखि लगाउन सुरु भएको छ । दिनभरी नै टीका लगाउन मिल्ने भए पनि साइत हेर्नेहरुका लागि ११ बजेर ३७ मिनेट उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।



















