नाफा कमाए पनि इन्धनको मूल्य नघटाउने निगमको निर्णय
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १८:२३
shares

काठमाडौं, १७ कात्तिक । नाफा कमाए पनि नेपाल आयल निगमले इन्धनको मूल्य भने नघटाउने भएको छ । बिहीबार विज्ञप्ति जारी गरेर निगमले पछिल्लो १५ दिनमा १८ करोड नाफा कमाएको भए पनि मूल्य नघटाउने जनाएको हो ।
नाफा बढेपनि आयल निगमको ऋण कायमै रहेकाले मूल्य नघटाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको विज्ञप्तिमा भनिएको छ ।
निगमले सरकार र भारतिय आयल निगमलाई तिर्नुपर्ने रकम २९ अर्ब १३ करोड रुपैयाँ बाँकी रहेको छ । ३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहेको भन्दै निगमले १६ कात्तिकमा प्राप्त नयाँ मूल्य केही बढेर प्राप्त भएको जनाएको छ । बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ ।















