नेप्से एक हप्तामा ११४ अंकले बढ्यो, परिसूचक २१४३ विन्दुमा
वि.सं.२०७९ पुस २३ शनिवार १०:०६
shares

काठमाडौं, २३ पुस । यो हप्ता शेयर बजार परिसूचक ११४ अंकले बढेको छ । गत हप्ताभन्दा ११४ दशमलव ९० अंकले बढेको शेयर बजार परिसूचक २१४३ दशमलव ९३ विन्दुमा पुगेको हो । यो गत हप्ताकोभन्दा ५.६६ प्रतिशतले बढी हो ।
गत हप्ता २०२९ दशमलव ०३ अंकमा रहेको शेयर बजारमा एक हप्ताको अन्तरमा निकै बढेको छ । साताका ५ कारोबार दिनमध्ये ४ दिने बजार बढेको थियो भने एक दिन सामान्य गिरावट आएको थियो । यो साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३ दशमलव ०३ अंक घटेको थियो । सो बाहेक अरु सबै कारोबार दिनमा नेप्से बढेको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स ५.०९ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ५.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४३ प्रतिशत बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा २ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको छ । गत साताको दैनिक औषत कारोबार रकमको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १ अर्ब ५ करोड रुपैयाँ अर्थात ३८.३१ प्रतिशत बढी हो ।
यस साता दैनिक औषत कारोबार संख्या २५.४१ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या २०.८३ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब ६७ अर्ब रुपैयाँ बढेर ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २०.०६ प्रतिशत बढेको छ । गत साता १९४९.५४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३९१.११ अंक बढेर २३४०.६५ विन्दुमा पुगेको छ। यस साता अन्य उपसमूहको परिसूचक सबैभन्दा कम ०.८६ प्रतिशत बढेको छ ।



















