Dhulikhel Eco Banner new

२० लाख तिरेर थुनामुक्त भए सन्दिप लामिछाने

5.71K
shares

काठमाडौं, २९ पुस । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् ।

लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।