Dhulikhel Eco Banner new

पोखरा विमान दुर्घटना पछि रवितिरै फर्किएको प्रश्न, टीभीको हुँकार कहाँ गयो ?

6.63K
shares

काठमाडौं, २ माघ । टेलिभिजन कार्यक्रम मार्फत राजनीति दलका नेताहरुलाई चर्को स्वरमा गाली गर्ने रवि लामिछाने अहिले त्यो जिम्मेवारीमा रहेका छन् । नयाँ सरकार बन्दा ६ महिना अघि राजनीति दल खोलेका रवि अहिले उप प्रधानमन्त्री सहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा उनले यस अघि भएका दुर्घटनामा बोलेका भिडियोहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । अरुलाई प्रश्न गर्न र आफूले काम गर्न कति गारो हुदो रहेछ भन्ने कुराको महसुस सायद रवि लामिछानेले गरेको हुनु पर्छ । पोखराको ७२ जना जहाज दुर्घटना भएर हरहरि जलिरहँदा सवारी दर्घटना भएको विषयमा गृहमन्त्रीका विषयमा उनी लामिछानेले बोलेको कुरालाई अहिले टिकटकमा निकै भाइरल बनाइरहेका छन् ।

देशकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएर ७२ जनाको मृत्यु भइरहदा सरकार भने एक थान छानबिन समिति बनाएर सार्वजनिक बिदा दिएर बसेको छ । सरकारले सोमबारका लागि दिएको सार्वजनिक बिदाको पनि सामाजिक सञ्जालमा निकै विरोध समेत भएको छ । सार्वजनिक बिदा दिनेभन्दा पनि पुराना विमानलाई बिदा गर्नु पर्ने विषय अहिले सामाजिक सञ्जालमा निकै पोष्ट भइरहेका छन् ।

यत्रो ठूलो दुर्घटना हुँदा पनि राज्य सञ्जालनको जिम्मेवारीमा पुगेका र पहिले तिनै राज्य सञ्चालकलाई निरन्तर रुपमा गाली गरेर नथाक्ने रवि अहिले गुमनाम बसेका छन् । अहिलेका गृहमन्त्री रवि लामिछानेले २०७८ असोजमा मुगुमा भएको बस दुर्घटना गृहमन्त्री र सम्बन्धीत निकाय माथि निरन्तर रुपमा कडा शब्दमा आलोचना गरेका थिए । त्यति बेला भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । तर विमान दुर्घटनामा परेर ७२ जनाको मृत्यु हुँदा पनि रवि गुमनाम जस्तै बन्दा सामाजि सञ्जालमा उनले विगतमा उठाएका विषयलाई जोडेर खिल्ली उडाइएको छ ।

नीति निर्माण गर्ने र कार्यान्वय गर्ने निकायमा रहेकाहरुलाई प्रश्न गरेर र्‍याखर्‍याख पार्ने लामिछाने अहिले नीति निर्माताको कुर्सीमा पुगेका छन् । तर उनले पनि पहिलेका नेताहरुकै जस्तै व्यवहार गरेको आभास भएको छ । उनबाट जनताले निकै ठूलो आशा गरेका छन् । तर त्यो आशा निराशामा परिणत हुने हो कि भन्ने प्रश्नहरु पनि सुरु हुन थालेका छन् । त्यो पनि गृहमन्त्री भएको एक महिनाको अवधि पार नगर्दै ।

मुगुमा बस दुर्घटना भएर सर्वसाधारणको मृत्यु हँुदा नीति निर्माताहरुलाई ज्यानमार भएको उद्घोष गरेका उनलाई पोखरामा विमान दुर्घटना हुँदा के भनेर सम्बोधन गर्ने होला ? यसमा पनि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । मुगु दुर्घटनाको समयमा लामिछानेले ‘हत्यारा’ को आरोप लगाउँदै टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘झारा टार्न प्रेस संयोजकले लेखिदिन्छ, आज भएको दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्छु परिवारमा हार्दिक समवेदना साथै घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछु । त्यो रेडिमेट ड्राफ सामाजिक सञ्जालमा पोस्ट गरेर मासु लुछ्दै चाड मनाउने नीति निर्माता नालायकनै हुन् । हत्यारा नै हुन् ।’

तर अहिले आएर यो प्रश्न उनी तिरै फर्किएको छ । उनी अहिले उत्तर दिने ठाउँमा छन् । प्रश्न गर्न जति सजिलो छ उत्तर दिनका लागि निकै गाह्रो छ । नेपालीहरु पढेरभन्दा परर मात्रै बुझ्छन भनेजस्तै रवि पनि अहिले सायद गर्नका लागि निकै गाह्रो रहेछ भनेर महसुस गरिरहेका होलान ।

दुर्घटनामा ज्यान गुमाएकाहरुमाथि वा दुर्घटनामा ज्यान गुमाएकाहरुको उद्धार, राहतका लागि राजनीतिक दलहरुले केही नगरेको आरोप लगाउने लामिछाने यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । अनि गृहमन्त्री पनि हुन् । तर उनले दुर्घटनाका विषयमा बोलेको भने कतै सुनिएको छैन । अहिले सरकारलाई पूर्णता दिने विषयमा नै राजनीति दल केन्द्रित भइरहेका छन । जसरी लामिछाने टेलिभिजनमा बोल्दा पनि राजनीतिक दलहरु सरकार बनाउने र टिकाउने खेलमा नै लागिरहेका हुन्थे । उनै प्रश्न गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई किन प्रश्न नगर्ने ?

रविले आफ्नो कार्यक्रममा अप्रिय घटनाहरुलाई दुर्घटना नभएर घटना भएको र त्यसबाट कोही पनि पन्छिन नमिल्ने बताउने गरेका थिए । तर उनी सहभागि रहेको मन्त्रिपरिषद्ले खाली छानविन समिति गठन गर्ने बाहेक के काम गर्‍यो ? जुन काम यस अघिका सरकारले पनि गर्दै आएका थिए । अहिले एकाथरिले यत्रो घटना हुँदा घटना स्थलमा गृहमन्त्रकिो उपस्थिति किन हुन सकेन भनेर प्रश्न गरिरहेका छन् ।

मुगुमा भएको दुर्घटनाको बेला रविले चर्को स्वरमा भनेका थिए ‘के नेपाली जनता मुचुल्कामा उठाइने लासका फगत गन्ती हुन् ? जिम्मेवारी लिनु पर्दैन कसैले ? चालकको लापरवाही भनेर प्रतिवेदन तयार पारेर फालिदिँदा पुग्छ ?’ ‘दुर्घटना न्यूनीकरण गर्ने एक होइन, अनेक उपाय छन ।’ उनले त्यतिबेला गरेको त्यो प्रश्न पनि उनी तिरै फर्केको छ ।