भोलिदेखि आईपीओ निष्काशन गर्दै सानिमा मिडिल
वि.सं.२०७९ माघ ३ मंगलवार १३:३४
shares

काठमाडौं, ३ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले भोलि अर्थात बुधबारबाट आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू.३ अर्ब ३३ करोड २५ लाख को १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्कासन हुने रू.४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली कामदारहरूले मात्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि माघ १८ गतेसम्म विक्री खुला हुनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।















