Dhulikhel Eco Banner new

अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा भारतको सहज जित

6.54K
shares

काठमाडौं, ७ फागुन । घारतले अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा पनि जित निकालेको छ । दिल्लीमा जारी दोस्रो टेष्टको तेस्रो दिन अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिजमा २–० को अग्रता लिएको हो । अष्ट्रेलियाले दिएको ११५ रनको सामान्य लक्ष्य भारतले ४ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा कप्तान रोहित शर्माले र चेतेश्वर पुजाराले समान ३१÷३१ रनको योगदान दिए । त्यस्तै केएस भरतले २३ रनको योगदन दिए भने विराट कोहलीले २० रन बनाए । यो जितसँगै भारतले ४ खेलका सिरिजमा २–० को अग्रता पनि बनाएको छ । भ्रमणकारी टोलिका लागि नाथन लायनले २ तथा टोड मुर्फीले १ विकेट लिए ।

पहिलो पारीमा भारतलाई १ रनले पछि पारेको कङगारु टोलिले दोस्रो पारीमा निकै खराब प्रदर्शन गरेको थियो । अष्ट्रेलियाको दोस्रो पारी ११३ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि दोस्रो पारीमा ट्राभिस हेडले ४३ तथा मार्नुस लाबुसचेनले ३५ रन बनाए । अष्ट्रेलियाका अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाहुना टोलिलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रविन्द्र जडेजा एक्लैले ७ विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

शुक्रबारबाट सुरु भएको दिल्ली टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको कङगारु टोलिले २६२ रन बनाएको थियो । उसका लागि उसमान खवाजाले ८१ रनको योगदान दिए । त्यस्तै पिटर ह्यान्ड्सकम्बले ७२ रनको पारी खेले । कप्तान प्याट कमिन्सनले ३३ रन बनाए । पहिलो पारीमा भारतका लागि मोहम्मद सामीले ४ तथा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३÷३ विकेट लिए ।

भारतले पहिलो पारीमा २ सय ६२ रन जोडेको थियो । भारतका लागि अक्षर पटेलले ७४ रन बनाए । विराट कोहली ४४ रनमा आउट हुँदा रविचन्द्रन आश्विनले ३७ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाउँदा रविन्द्र जडेजाले २६ रन बनाए । पहिलो पारीमा अष्ट्रेलियाका लागि नाथन लायनले ५ विकेट लिए । म्याथ्यु कुहेन म्यान र टोड मुर्फिले समान २÷२ विकेट लिए ।