Dhulikhel Eco Banner new

कलाकारहरुको कला युगौँयुगसम्म जिवित रहन्छ : मन्त्री मोदी

5.37K
shares

काठमाडौं, ११ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कलाकारहरुको कला युगौँयुगसम्म जिवित रहने बताएका छन् ।

नेपाल चलचित्र प्राविधिक संघको २० औँ साधारणसभालाई उद्घाटन गर्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् ।

कोही पनि मान्छेको आयु हजार वर्ष या सय वर्ष नहुने बताउँदै मन्त्री मोदीले भने, “कोही पनि मान्छेको हजार वर्ष आयु हुँदैन । तर, कलाकारहरुको कला युगौँयुगसम्म जिवित रहन्छ, त्यो युगयुगसम्म बाँच्छ ।

लाखौँलाख वर्ष बाँच्छ । राजेश खाँण, अमरेश पुरी यो दुनियाँमा हुनुहुन्न तर आज पनि उहाँको चलचित्र सुपरहिट छ । नारायणगोपाल आज यो दुनियाँमा हुनुहुन्न, तर पनि आज उहाँको गीत संगीत कालजयी र समुधुर लाग्छ ।”

चलचित्र क्षेत्रमा काम गर्नेहरुको जीवन जतिसुकै कठिन भए पनि इतिहासले त्यो कामको मूल्यांकन गर्ने मन्त्री मोदीको भनाई थियो । “तपाईहरुले चलचित्रमार्फत् समाजको चेतना प्रस्फुटन गर्दागर्दै कहिलेकाहीँ न राज्यले हेर्यो न व्यक्तिले हेर्यो, न हाम्रो उमेर रह्यो भन्ने लाग्न सक्छ” मन्त्री मोदीले भने, “तपाईहरुको पनि नाम, गौरव र जीवनका बारेमा जब मान्छेहरुले पढ्छन्, तपाईहरुप्रति सम्मान र गौरव गर्नेछन्, वास्तवमा तपाईहरुको सम्पति भनेके यही हो ।”

मन्त्री मोदीले श्रमसँग जोडिएका कुनै पनि व्यक्तिलाई सामाजिक सुरक्षासँग जोडिनुपर्छ भनेर आफूले यसअघि संसदमा कुरा उठाउँदै आएको स्मरण गराउँदै भने, “चलचित्र क्षेत्रका प्राविधिकहरुलाई सामाजिक सुरक्षासँग जोडाउनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ, मैले सरकारको तर्फबाट गर्न सक्ने सहयोग गर्छु ।”

अहिलेको सरकारको प्रधानमन्त्री सर्वहरा, गरिब मजदुरको पक्षमा आन्दोलनको नेतृत्व गरेर आएको व्यक्ति भएको बताउँदै मन्त्री मोदीले श्रमिकहरुको हक हितका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नदिने विश्वास समेत व्यक्त गरे ।

मन्त्री मोदीले हिरोलाई पनि हिरो बनाउने चलचित्रका प्राविधिकहरु पर्दा पछाडिका हिरो भएको बताउँदै राज्यले प्राविधिकहरुको श्रमको उचित मूल्यांकन र सम्मान गर्ने पनि बताए ।

मन्त्री मोदीले निजामती अस्पतालमा तीनवटा पाटोलाई समेट्न पाए हुन्थ्यो भन्ने आफूलाई लागेको सुनाउँदै भने, “निजामती अस्पतालबाट अहिले निजामती सेवामा लागेकाहरुले मात्रै सेवा पाइरहेका छन् । त्यसमा चलचित्र क्षेत्र, राष्ट्रिय स्तरका खेलाडी र शिक्षकहरुलाई पनि ५० प्रतिशत छुट दिन पाए हुन्थ्यो भन्ने मलाई लागेको छ । त्यो कति गर्न सकिन्छ, यसमा मेरो प्रयास रहन्छ ।”