करिब ११ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्रा सञ्चित
वि.सं.२०७९ फागुन २८ आइतवार १७:५८
shares

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षको माघ मसान्तसम्म मा विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । सात महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिमा १३.८ प्रतिशतले बढेको हो ।
सञ्चित रहेको विदेशी मुद्राबाट करिब ११ महिनासम्म वस्तु तथा सेवा आयात गर्न पुग्छ । नेपालसँग सञ्चित रहेको विदेशी मुद्राबाट १०.८ महिनाको वस्तु आयात गर्न पुग्छ । नेपालसँग गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । सात महिनामा १३.७ प्रतिशतले बढेर माघ मसान्तसम्म १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्म आइपुग्दा १० अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । जुन १०.२ प्रतिशतले वृद्धि हो ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब २८ अर्ब रुपैयाँ ५ करोड रहेको छ । त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ बराबर रहेको छ । माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ ।



















