Dhulikhel Eco Banner new

बैंकका सेवाग्राही माथिको धरपकड रोक्न सिबिफिनको आग्रह

5.3K
shares

काठमाडौं, १ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आन्दोलनका नाममा बैंकिङ सेवा नै अवरुद्ध गर्ने कार्य निन्दनिय भएको बताएको छ । बैंक तथा वित्तीय संस्थामा धरपकड गर्ने, कार्यालय बन्द गर्न पत्र पठाउने जस्ता अराजक गतिविधिहरुप्रति परिसंघले खेद प्रकट गरेको हो ।

विभिन्न व्यावसायिक संस्थाहरुले मंगलबार मकवानपुरको हेटौडामा रहेको कुमारी बैंकको शाखा कार्यालयमा बैंकिङ सेवा अवरुद्ध गरेका थिए । बैंकिङ सेवा सरकारले अत्यावश्यक सेवा भित्र पर्ने भएकाले यस्तो कार्य गर्नु दुखत भएको सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आन्दोलनका नाममा सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र पठाएर धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरु गरेको भन्दै सिबिफिनले खेद प्रकट गरेको छ ।

‘जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने मान्यता बमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई हार्दिक आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।