Dhulikhel Eco Banner new

कति पुग्यो नेपालमा डिम्याट खाता खोल्नेको संख्या ?

9.36K
shares

काठमाडौं, १० चैत । केही वर्ष पहिलेसम्म पनि डिम्याट खाता खोल्नेको संख्या निकै कम रहेको थियो । कोभिड सुरु भएसँगै नेपालमा डिम्याट खाता खोल्नेको संख्यामा निकै वृद्धि भयो । त्यो समय शेयर बजार परिसूचक पनि ३२०० विन्दुको नजिक पुगेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा डिम्याट खाता खोल्नेको संख्या १५ लाखको हाराहरीमा थियो । त्यसपछि लगातार रुपमा खाता खोल्नेको संख्यामा वृद्धि भयो । अहिले ५६ लाखबढी नेपालीले डिम्याट खाता खोलेका छन् । फागुन मसान्तसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५६ लाख ५५ हजार ५१२ पुगेको छ । यो अवधिमा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै नेपालमा २० लाखभन्दा बढी डिम्याट खाता खुले । त्यो वर्ष २० लाख ३७ हजार ४२३ नयाँ डिम्याट खाता खुलेका थिए ।

त्यस्तै २०७८/०७९ मा पनि १५ लाख ५७ हजार ५२५ वटा डिम्याट खाता थपिएको सीडीएससीको तथ्यांकले देखाएको छ । सीडीएससीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ लाख ६ हजार ५३० वटा नयाँ खाता खुलेका छन् । हालसम्म ६७ हजार ३१८ जनाले खाता बन्द तथा बन्द गर्ने प्रक्रियामा रहेको छ ।

डिम्याट खाता खोलेकामध्ये पुरुषको संख्या ५७.४६ प्रतिशत रहेको छ भने महिलाको संख्या ४२.५४ प्रतिशत रहेको छ । अहिले महिलाको संख्या २३ लाख ७७ हजार १५९ रहेको छ । पुरुषको संख्या ३२ लाख ४ हजार ३१८ रहेको छ ।

खाता खोल्नेको संख्या बढेसँगै दैनिक कारोबार संख्यामा पनि वृद्धि हुँदै गएको छ । अहिले दोस्रो बजारमा दैनिक २० हजारभन्दा बढीले कारोबार गर्ने गरेका छन् । जुन तीन/चार वर्ष पहिलेसम्म ४/५ हजारको हाराहारीमा रहेको थियो ।