तीन दिनमा सवारी लाइसेन्स दिन्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
वि.सं.२०७९ चैत १३ सोमवार १८:२८
shares

काठमाडौं, १३ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) तीन दिन भित्र उपलब्ध गराइने बताएका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने उनले बताएका हुन् ।
सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको उनको भनाइ थियो । हरेक दिन ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको उनको भनाइ थियो ।
उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने पनि जानकारी दिए । उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको पनि सुनाए ।
उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताए । उनले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने बताए । त्यस्तै मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् । तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री बन्ने कुरा आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए । उनले छिटै मन्त्रिपरिषदले पूर्णता पाउने पनि बताए ।



















