Dhulikhel Eco Banner new

आठ महिनामा अधिकांश वस्तुको आयातमा कमी, रासायनिक मलकाे आयात भने ११७ प्रतिशतले बढ्याे

4.99K
shares

काठमाडौं, १५ चैत । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा आयात हुने अधिकांश वस्तुको आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म तीन वटा बस्तुको आयातमा वृद्धि भएको छ भने अन्य वस्तुको आयातमा कमी व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार ८ महिनामा पेट्रोलियम पदार्थ, सुन र रासायनिक मलको आयत बढेको छ भने अन्य वस्तुको आयातमा कमी आएको छ । यो अवधिमा सुनका आयात ९.७ प्रतिशत र पेट्रोलियम पदार्थको आयात ९.६ प्रतिशतले बढेको छ । रासायनीक मलको आयात भने ११७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

यो अवधिमा नेपालले ३५ अर्ब ८६ करोड बराबरको सुन आयात गरेको छ । गत वर्षको सोही अवधिमा भने नेपालले ३२ अर्ब ६८ करोड बराबरको सुन आयात गरेको थियो । त्यस्तै साउनदेखि फागुनसम्ममा अवधिमा २ खर्ब २ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ८४ अर्ब ९८ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

गत वर्षको ८ महिनामा नेपालले १२ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको रासायनिक मल आयात गरेको थियो भने चालू आवको सोही अवधिमा २७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँको मल आयात भएको छ । यो गत वर्षकोभन्दा ११७ प्रतिशतले बढी हो ।

आर्थिक संकटका कारण पछिल्लो समय बजारमा वस्तुको माग घटेको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चाँदीको आयात उच्च मात्रले गिरावट आएको छ । गत वर्षको ८ महिनाको अवधिमा १५ अर्ब ३६ करोड ६४ लाख रुपैयाँको चाँदी आयात भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा नेपालले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँको चाँदी आयात गरेको छ । समीक्षा अवधिमा सवारी साधन र पार्टपुर्जा आयातमा ५७ प्रतिशतले कमी आएको छ । सरकारले सवारी साधनको आयातमा कडाइ गरेसँगै बजारमा माग नहुँदा सवारी साधन क्षेत्रको व्यापारमा उच्च गिरावट देखिएको छ ।

तथ्यांक अनुसार गत वर्ष नेपालले ७५ अर्ब ९५ करोड १० लाख रुपैयाँको सवारी साधन ताथ पार्टपुर्जा आयात गरेको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भने ३२ अर्ब ६५ करोड ९८ लाख रुपैयाँको मात्रै आयात भएको छ । त्यस्तै ८ महिनाको अवधिमा औषधीजन्य वस्तुको आयातमा पनि ४३.९ प्रतिशतले कमी आएको छ । त्यस्तै टेलिकम्युनिकेसनको सामग्री तथा पार्टको आयात पनि ३८.७ प्रतिशतले घटेको छ ।

गत वर्षको ८ महिनाको अवधिमा ५२ अर्ब २२ करोड ६८ लाख रुपैयाँको औषधीजन्य वस्तु आयात भएको थियो भने चालु आर्थिक वर्षको समीक्षा अवधिमा २९ अर्ब ३२ करोड ३६ लाख रुपैयाँको मात्रै आयात गरेको छ । त्यस्तै नेपालले गत वर्षको फागुनसम्ममा ३९ अर्ब ८४ करोड ६४ लाख रुपैयाँको टेलिकम्युनिकेसनको सामग्री आयात गरेको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँको आयात गरेको छ ।

त्यस्तै यो अवधिमा कच्चा पाम तेलको आयातमा ३४.७ प्रतिशत, गार्मेन्ट ३३.६, मेसिनरी पाटपुर्जा ३३.८, खाद्यन्न ३१.८ र तोरीको दानाको आयात ३१.५ प्रतिशतले घटेको छ । त्यस्तै रबर र रबर जन्य कच्चापदार्थको आयातमा ३१.४ प्रतिशत, कच्चा सनफ्लावर तेलको आयात २९.२ प्रतिशत, कपर तथा कच्चा पदार्थ २४.६, एयरक्राफ्ट तथा पाटपुर्जा २६.४ प्रतिशत र विद्युतीय सामग्रीको आयातमा ११.१ प्रतिशतले कमी आएको छ । त्यस्तै रसायनको आयातमा १०.२ प्रतिशत र जिन्क तथा कच्चा पदार्थको आयातमा ३.३ प्रतिशतले कमी आएको छ ।

त्यस्तै आइरन तथा स्टीलजन्य वस्तुहरुको आयातमा १८ प्रतिशतले कमी आएको छ । प्लास्टीकजन्य वस्तुको आयातमा १७.९ प्रतिशत, कटनको १७.५ प्रतिशत र उन तथा जनावरको कपालको आयात १०.६ प्रतिशतले घटेको छ ।