Dhulikhel Eco Banner new

निजीक्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल

4.98K
shares

काठमाडौं, १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान बिना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै अहिले सरकारले निजी क्षेत्रका व्यवसायीको कुरा नसुनेको भन्दै यो निकै दुखत भएको उनले बताएका हुन् ।

‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ उनले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’ देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो । ‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेका छन् भने उनीहरुले विदेशी भुमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने । रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु भएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्ने ढकालको भनाइ छ ।

कुनै कारणले बैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने अवस्था आउन सक्ने भएकाले यस तर्फ सबै सजग बन्नु पर्ने उनको भनाइ थियो । कुनै समय निर्यातको मुख्य बस्तुको रुपमा रहेको नेपाली गलैँचा लगायका बस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए । ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता बस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झन्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’

सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंककाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’